२०७३ माघ २१ गते शुक्रबार – आजको राशिफल

आज वि.सं. २०७३ माघ २१ गते शुक्रबार तदनुसार ई. सं. २०१७ फेब्रुवरी ०३ तारिख

माघ शुक्ल सप्तमी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, शुभ योग, गर र वणिज करण
आजको चाडपर्व र उत्सव : अचला सप्तमी, रथसप्तमी, मन्वादि, लगलाचुयके,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास(जग राख्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी,
भोलिको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली, भीष्माष्टमी,
भोलिको मूहुर्त : अग्निवास(होमादि),

आजको राहुकाल र कालवारवेला :–
राहु काल : दिउँसो १०:५७ देखि १२:१८ सम्म
काल वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०९:०१ देखि १०:४० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय (वारवेला) :–
लाभ वारवेला : बिहान ०८:१४ देखि ०९:३५ सम्म र बेलुका १०:४० देखि १२:१८ सम्म
शुभ वारवेला : दिउँसो १२:१८ देखि ०१:४० सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म
अमृत वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१४ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
शुभ रङ्ग : गुलाबी
शुभ अङ्क : १
शुभ दिशा : पूर्व
इष्ट देवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जिम्मेबारी वहन गर्नु पर्नेछ, आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो, आज । खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन ।
शुभ रङ्ग : बैजनी वा पहेंलो
शुभ अङ्क : ४
शुभ दिशा : उत्तर
इष्ट देवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मसिद्धिको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।
शुभ रङ्ग : नीलो
शुभ अङ्क : ३
शुभ दिशा : पश्चिम
इष्ट देवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आफूले सक्दो मिहिनेत गरे पनि त्यसको प्रतिफल र सम्मान अर्कैले भोग गर्ने सम्भावना छ । ठूलाबडा र अभिभावकहरूका साथमा सम्बन्ध चिसिन सक्छ । अभिभावक खासगरी पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला ।
शुभ रङ्ग : कालो
शुभ अङ्क : २
शुभ दिशा : दक्षिण
इष्ट देवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।
शुभ रङ्ग : गाढा पहेंलो वा केशरी
शुभ अङ्क : ९
शुभ दिशा : पूर्व
इष्ट देवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले बढी खर्च र यात्रा दुवै हुनसक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । गुप्त योजना कार्यान्वयन हुनसक्छन् । घरपरिवारमा सामान्य छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । परदेशको बसाइमा हुनुहुन्छ भने आकस्मिक लाभ पाउने सम्भावना पनि छ ।
शुभ रङ्ग : नीलो
शुभ अङ्क : ८
शुभ दिशा : उत्तर
इष्ट देवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सप्तमस्थ चन्द्रमा भएकाले एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ ।
शुभ रङ्ग : हलुका रातो
शुभ अङ्क : ७
शुभ दिशा : पश्चिम
इष्ट देवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ, प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बन्दव्यापारका क्षेत्रमा समेत खासै उपलब्धी हुनसक्दैन । मनमा अधैर्य देखिने छ । पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न गर्नसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा खासै उपलब्धी लिन सकिंदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा समेत असर पर्ने सम्भावना छ ।
शुभ रङ्ग : सेतो वा घुर्मैलो
शुभ अङ्क : ६
शुभ दिशा : दक्षिण
इष्ट देवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सृजनात्मक सफलता मिल्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ ।
शुभ रङ्ग : आकासे
शुभ अङ्क : ९
शुभ दिशा : पूर्व
इष्ट देवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले घरायसी कुरा सम्झेर दिन बिताउने छन् । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । बन्दव्यापार राम्रो छ, आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना देखिन्छ । नचिताएको साथी वा छिमेकीले अप्रत्यासित सहयोग गर्ने सङ्केत पनि छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । पति/पत्नी र प्रेमी/प्रेमिकाका बीचमा निकटता बढ्ने छ ।
शुभ रङ्ग : कलेजी
शुभ अङ्क : ४
शुभ दिशा : उत्तर
इष्ट देवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । आम्दानी बढ्नेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
शुभ रङ्ग : हरियो
शुभ अङ्क : ३
शुभ दिशा : पश्चिम
इष्ट देवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।
शुभ रङ्ग : सेतो
शुभ अङ्क : २
शुभ दिशा : दक्षिण
इष्ट देवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

सोर्त – कृष्णप्रसाद कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button