कम्पनीले महिलाहरूलाई २८ मिलिलिटर दूधको ०.५० डलर दिने गरेको थियो ।
– बीबीसी, नोमपेन्ह
दुई वर्षदेखि कम्बोडियाका धेरै महिलाहरूले आफ्नो दूध एक कम्पनीलाई बेच्दै आएका थिए । ‘एम्ब्रोसिया ल्याब्स’ नामको उक्त कम्पनीले महिलाहरूको दूध प्रशोधन गरेर अमेरिकामा बेच्थ्यो । आफ्ना सन्तानलाई दूध खुवाउन नसक्ने अमेरिकी महिलाका लागि यो दूध आकर्षण बनेको थियो । कम्पनीले महिलाहरूलाई २८ मिलिलिटर दूधको ०.५० डलर दिने गरेको थियो ।
तर, यो अभ्यास विवादित हुँदै आएको थियो । यसले ‘ती महिलाहरू शोषित भएका हुन् या साँच्चै नै उनीहरूको सशक्तीकरण भएको हो’ भन्ने प्रश्न जन्माएको थियो । तर, मंगलबार कम्बोडियाली सरकारले तत्कालका लागि लागू हुने गरी महिलाको दूध निर्यातमा प्रतिबन्ध लगाएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत राष्ट्रसंघीय निकाय युनिसेफले ‘यस्तो अभ्यास नाफा र व्यापारिक उद्देश्यका लागि गरिब महिलाको शोषण भएको’ बताएपछि सरकारले प्रतिबन्ध लगाएको हो ।
एम्ब्रोसिया कम्पनीले राजधानी नोमपेन्हनजिकैको स्टङ मिन्सेमा पसल राखेर दूध किन्ने गरेको हो । कम्पनीले महिलाबाट किनेको दूधलाई अमेरिकामा ८ गुणा मूल्य लिएर बिक्री गर्ने गरेको छ । आलोचकहरूका अनुसार यो अभ्यासले महिलाहरूलाई पैसाका लागि आफ्नो बच्चालाई दूध खुवाउनुको सट्टा बेच्न प्रोत्साहित गर्दै आएको थियो । युनिसेफका अनुसार विगतमा कम्बोडियामा नवजात शिशुहरूलाई आमाको दूध चुसाउनेको संख्या धेरै थियो । तर हालैका वर्षमा यसमा कमी आएको छ भने बाल–कुपोषण समस्याका रूपमा देखिएको छ । एम्ब्रोसियाले भने ६ महिनादेखि शिशुलाई दूध खुवाउँदै आएका महिलाबाट दूध लिने गरेको र केही सीमित महिलाले मात्र दिनमा दुईपटक दूध दिने गरेको जनाएको छ । उक्त कम्पनीले आफूले महिलाको सशक्तीकरण गरेको र ९० भन्दा बढी परिवारलाई आर्थिक रूपमा सहयोग गरेको जनाएको छ ।
महिलाहरूले दिनमा बढीमा १२ डलरसम्म कमाउने गरेको बताइएको छ । स्थानीय महिलाले भने आफूलाई आर्थिक रूपमा सहयोग पुगिरहेको कार्यमा प्रतिबन्ध लगाइएकोमा दु:ख व्यक्त गरेका छन् ।
स्रोत कान्तिपुर – https://kantipur.ekantipur.com/news/2017-03-30/20170330074458.html





