

पोखरा-
आगामी वैशाख ३१ गते स्थानिय तहको निर्वाचन हुने भए पछि नेपालकै सबै भन्दा ठूलो महानगरपालिका भएको पोखरा लेखनाथ महानगरपालीकामा चुनावी रौनक बढ्दै गएको छ ।
करीब १९ बर्ष पछि पहिलो पटक हुन लागेको उक्त निर्वाचनमा सहभागि हुन स्थानीय पनि उत्साहित छन भने विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई हिजो आज भ्याई नभ्याई भएको छ । क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठूलो महानगर भएको पोखरा लेखनाथ महानगरपालीकाको मेयरको उम्मेद्वार बन्न संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी देखी पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विन्दु कुमार थापा सम्मका व्यक्तिहरुले आकाक्षा देखाएका छन । अधिकारी नेकपा एमालेका निर्वाचित सांसद हुन भने थापा काग्रेंसका क्रियाशिल सदस्य हुन ।
हाल ठूलो पार्टीको रुपमा रहेको कांग्रेसबाट सांसद तथा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा, कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नगर सभापति बजीरमान श्रेष्ठ, महाधिवेसन प्रतिनिधी रामजी कुँवर, कागेंस कास्कीका पुर्व सचिव नन्दप्रसाद तिवारी, वडा नम्बर ८ का पुर्व अध्यक्ष विरेन्द्र नारायण विजुक्छे, कागेंस कास्कीका पुर्व कोषाध्यक्ष ऋषि सापकोटा, कागेंस नेता विश्व घिमिरे, कांग्रेसका युवा नेता नरेश शंकर पालिखे, नेपाल विद्यार्थी संघ कास्कीका सभापति सुवास कोइराला, पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल लगायतका नाम चर्चामा रहेको कागेंस श्रोतले जनाएकोे छ ।
नेकपा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बन्न एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एमालेका बैकल्पिक केन्द्रीय सदस्य मानवहादुर जिसी, एमाले नगर कमिटी अध्यक्ष तेजनारायण अधिकारी, युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारी, पूर्व जिविस सभापति श्रीनाथ बराल, एमाले निकट व्यापारीहरुको संगठन राष्ट्रिय वाणिज्य संघका अध्यक्ष र पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति धनराज आचार्य लगायतको नाम चर्चामा रहेको छ । कृष्ण थापा २०५४ सालको स्थानिय निकायको निर्वाचनमा पोखरा उपमहानगरपालिकाका निर्वाचित सभापति हुन् ।
त्यस्तै तेश्रो पार्टी माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेद्वार बन्ने आकांक्षिमा माओवादी केन्द्र कास्की अध्यक्ष एवं नेपाल क्रिकेट सल्लाहकार समितिका सदस्य दीपक कोइराला, माओवादी केन्द्रबाट कास्की सह ईञ्चार्ज रामजी वराल, माओवादी केन्द्रका पूर्व कास्की अध्यक्ष झलकपाणी तिवारी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा अग्रज पत्रकार कोमलनाथ वराल, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष माओवादी नेता विश्वप्रकाश लामिछाने लगायतको नाम चर्चामा रहेको माओबादी केन्द्रले जनाएको छ ।
चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कास्की अध्यक्ष जयलाल पुन, राप्रपा नगर कमिटीका अध्यक्ष रमेश खत्री र लेखनाथका कृष्ण रेग्मीले पनि मेयरको उम्मेद्वार बन्ने आकांक्षा देखाएको श्रोतले जनाएको छ । पहिलोपटक चुनाव लड्न लागेको नयाँ शक्ति नेपालका तर्फबाट पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर तमु ‘मामा’, कास्की अध्यक्ष किरण थापा, भर्रखरै मात्र नयाँ शक्तिमा प्रवेश गरेका पूर्व कर्नेल मदन केसी, टीकाराम पौडेल, लगायतको मेयरको उम्मेद्वार बन्ने आकांक्षा देखाएको श्रोतले जनाएको छ ।





