
पोखरा –
जापान बस्दै आएका एक व्यक्तिले आफ्नो व्यक्तिगत खर्चमा मादक पदार्थ सेवन (मापसे) चाँज गर्ने मेसिन ब्रेथलाइजर र ट्राफिक ज्याकेट किनेर ट्राफिकलाई हस्तान्तरण गरेका छन् ।
चितवन घर भई हाल जापान बस्दै आएका रवी गैह्रेले मादक पदार्थ सेवन (मापसे) चाँज गर्ने मेसिन ब्रेथलाइजर र ट्राफिक ज्याकेट जापानदेखि ल्याएर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरेका हुन् । मंगलवार एक कार्यक्रमका विच गैह्रेले ट्राफिक प्रहरी नायब निरिक्षक शिव थापालाई दुई थान ब्रेथलाइजर र ७ थान ज्याकेट हस्तान्तरण गरे ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक मोहनमणी अधिकारी प्रशिक्षणका क्रममा जापान गएका बेला भएको चिनजानकै आधारमा उनी आफैले आवश्यकता महशुस गरी सो सामाग्री किनेर ल्याएका हुन् । गैह्रेले जापानबाट २० थान ज्याकेट र ६ थान ब्रेथलाइजर ल्याएकोमा ४ थान ब्रेथलाइजर र १३ थान ज्याकेट जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई हस्तान्तरण गरिसकेका छन् । बाँकी सामाग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरेका हुन् ।
उनले हस्तान्तरण गरेको मादक पदार्थ सेवन (मापसे) जाँच मसिन (ब्रेथलाइजर) प्रति थान १५ हजार रुपैयामा किनेका हुन् । त्यस्तै ज्याकेट प्रतिथान ३ हजार पाँच सय रुपैयामा खरिद गरिएको गैह्रेले जानकारी दिए । यो ब्रेथलाइजर यसअघि प्रयोग भैरहेको भन्दा आधुनिक हो । जापानमा कार्यरत ट्राफिक प्रहरीसँगको सल्लाहका आधारमा डिजिटल ब्रेथलाइजर खरिद गरेर ल्याएको उनले बताए ।
गैह्रे २६ बर्षदेखि जापानमा छन् । रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेका उनी जापानको हिरोसिमा क्षेत्रबाट एनआरएन अध्यक्ष समेत हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरिक्षक शिब थापाले गैह्रेले हस्तान्तरण गरेको ब्रेथलाइजर यसअघिको भन्दा आधुनिक , सुरक्षित र सहज भएको बताए । नयाँ ब्रेथलाइजरमा पाइपको प्रयोग गर्नु पर्दैन । डिजिटल ब्रेथलाइजर भएकाले मापसे चेकिङका क्रममा सम्बन्धित ब्यक्तिको स्वाँसकै आधारमा अल्कोहलको प्रतिशत र सेवन गरेको समय समेत देखाउछ । यसअघिको ब्रेथलाइजरमा पाइपको प्रयोग हुने भएकाले फेरिरहनुपर्ने झन्झट थियो भने एक ब्यक्तिको रोग अर्कोलाई सर्ने खतरा पनि थियो । तर यो यसअघिको पनि निकै सुरक्षित र ट्राफिकलाई प्रयोगमा पनि सहज भएको थापाले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा यसअघि तीन वटा ब्रेथलाइजर भएपनि राम्रोसँग काम गर्ने अबस्थामा थिएन । ट्राफिक सामाग्री हस्तान्तरण गरेकोमा उनले गैह्रेलाई धन्यावाद समेत दिए ।





