

दुई घण्टामै एक हल खेत जोत्छ हाते ट्याक्टरले,
पोखरा न्युज-
पछिल्लो समयमा खेत वारी जोत्नको लागि प्रयोग हुने गोरु पाउन मुस्किल भएसंगै त्यसको विकल्पमा उपत्यका तथा पहाडी केहि भेगमा हाते ट्याक्टर (मिनी टिलर) प्रयोग हुन थालेको छ ।
सरकारी अनुदान, कम खर्चमा तथा छोटो समयमा धेरै खेत वारी जोत्नको लागि प्रयोग हुने हाते ट्याक्टरबाट कृषकहरुले बढी लाभ लिएका छन । पछिल्लो क्रममा व्यवसायिक तथा केही कृषकहरुले हाते ट्याक्टर प्रयोग गरेसंगै यसको बजारमा माग समेत बढ्न थालेको हो ।
नेपाल सरकारले कृषकहरुलाई हाते ट्याक्टरमा ५० प्रतिशत अनुदान दिएसंगै पछिल्लो क्रममा पहाडी तथा उपत्यका क्षेत्रमा यसको प्रयोग बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय कास्कीका कृषि प्रसारक अधिकृत प्रकाश बस्ताकोटीले जनाए । उनका अनुसार गत बर्ष कास्कीमा कार्यालयबाट ५० प्रतिशत अनुदानमा ५० वटा हाते ट्याक्टर वितरण गरिएको थियो भने यस बर्ष हालसम्म ४५ वटा वितरण गरिएको छ । ७० देखि ८० हजार मुल्य बराबरका हाते ट्याक्टर व्यवसायिक कृषकहरुले तथा समुहमा आएका कृषकहरुले प्रायः बढी प्रयोग गरेको कृषि प्रसारक अधिकृत बस्ताकोटीले पोखरा न्युजलाई बताए । उनले भने “केहि कृषकहरुले यसको प्रयोग राम्रोसंग गर्न जानेकोले धेरै फाईदा लिन सकेका छन, तर केहि कृषकहरुले तालिम विना हाते ट्याक्टर लगे पनि प्रभावकारी ढंगले प्रयोग गर्न सकेका छैनन। ” केन्द्रबाट समेत पोखरा क्षेत्रमा केहि हाते ट्याक्टर वितरण हुने कार्यक्रम रहेकोले त्यसको लागि अग्रिम ७५ वटा निवेदनहरु परेको समेत उनले बताए ।
भादगाँउले ईन्टर प्राईजेजका संचालक रामबाबु न्यौपानेले गत बर्ष करिब २ सय वटा हाते ट्याक्टर विक्री गरेको बताए । विगत ६ बर्ष देखि हाते ट्याक्टरको व्यवसाय सुरु गरेका उनलाई पछिल्लो समयमा ट्याक्टर विक्री गर्न र मर्मत तथा ट्याक्टरका पार्टपुर्जा विक्री गर्न भ्याई नभ्याई भएको छ । पोखराको पार्दीमा व्यवसाय संचालन गरेका न्यौपानेले पोखरा आसपास सहित कास्कीका छिमेकी जिल्लामा समेत ट्याक्टर विक्री भएकोले आवश्यक सेवाको लागि आफु कृषकहरुको खेत वारी सम्म पुग्ने गरेको बताए । उक्त ट्याक्टरको प्रयोगले गर्दा खेतवारीमा डल्ला फोर्न पनि नपर्ने एक घण्टामै एक रोपनी खेत वारी जोत्न मिल्ने, एक लिटर डिजेल तथा पेट्रोलबाट एक घण्टासम्म जोत्न सकिने भएकोले गर्दा हाते ट्याक्टरको प्रयोग बढेको न्यौपाने बताउछन । सामान्यतया एक हल खेत वा वारी दुई घण्टामै जोत्न सकिने सजिलो यन्त्र भित्रिएसंगै कृषक हलगोरु छाडेर ट्याक्टर प्रयोग गर्न थालेको न्यौपाने बताउछन । आफ्नो पसलमा ७० हजार देखि एक लाख १२ हजार मुल्यका ५ प्रकारका हाते ट्याक्टरहरु उपलब्ध भएको न्यौपानेले पोखरा न्युजलाई बताए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ का एक कृषक केवल बहादुर गुरुङले शहर बजारमा पनि हाते ट्याक्टरले खेतवारीमा खनजोत गर्न सहज हुने भएकोले आफुले प्रयोग गरेको बताए । उनले पोखरा न्युज संग भने “ हाते ट्याक्टरले जोत्दा आफ्नो समयमा खनजोत गर्न पाईयो, सरकारले ५० प्रतिशत अनुदान दिएकोले हामीलाई यसबाट धेरै फाईदा पुग्छ, गोरुको विकल्पमा खेतवारी जोत्न हाते ट्याक्टर सजिलो माध्यम भएको छ । ”
त्यस्तै, स्याङजा फेदीखोलाका एक कृषक शम्भु गुरुङले विगत ३ बर्ष देखी हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन । उनले करिब १६ रोपनी क्षेत्रफलमा व्यवसायीक फलफुल तरकारी लगाउदै आएका छन । घोथाने कृषि तथा पोल्टी फार्म समेत संचालनमा ल्याएका गुरुङले कृषि पेशाबाट बार्षिक करिब ८ लाखसम्म आम्दानी गर्ने गरेको पोखरा न्युजलाई बताए । विगत डेढ दशक गाडी क्षेत्रमा काम गरेका गुरुङले द्धन्द्धको समय देखि व्यवसायीक कृषि खेतिमा हात हालेका हुन । गाँउ घरमा गोरु पालेर खेतवारीमा खतजोत गर्नु भन्दा हाते ट्याक्टर विना झनझट सहज ढंगले काम गर्न सकिने भएकोले हाते ट्याक्टरको आफुले अधिकतम प्रयोग गरेको दाबी गरे । अधिकाशं युवाहरु विदेशीएको कारणले गर्दा पनि खेत वारी जोत्न गोरु सहितको मजदुर समस्या रहेको उनले जनाए ।





