पोखरामा भारतीय पर्यटक बढे, भारतको गर्मी छल्न पोखरा हुँदै मुक्तिनाथसम्मको यात्रा

पोखरा न्युज-

छिमेकी मुलुक भारतमा अत्याधिक गर्मी बढेसँगै पोखरा घुम्न आउने भारतीय पर्यटकको सङ्ख्यामा भारी वृद्धि भएको छ ।

बढ्दो गर्मी छल्न भारतका विभिन्न स्थानबाट भारतीय पर्यटकहरु  पोखरा आउन थालेका हुन् । यसरी पोखरा आउने भारतीय पर्यटक  पोखरा र आसपासका धार्मिक तथा पर्यटकीय  क्षेत्रको अवलोकन गर्ने गरेका छन् । भारतमा गर्मी बढेसंगै  स्थलमार्गबाट पर्यटकीय गाडी संगै निजी सवारी साधन लिएर आउने पर्यटकको संख्यामा वृद्धि भएको हो  ।

यो सिजनमा पोखरामा भारतीय पर्यटकको आगमन बढाउन भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाले गरेका प्रबर्द्धनात्मक कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले  बताए । बोर्डले हालसालै पर्यटन सम्बद्ध सङ्घ संस्थालाई लिएर भारतका विभिन्न सहरमा प्रबर्द्धनात्मक कार्यक्रमलाई अघि बढाएको छ । “पर्यटनको विकासका लागि व्यवसायीमा आत्मविश्वास चाहिन्छ, सँगसँगै अन्तर्राष्ट्रिय बजारको विश्वास जित्नु आवश्यक छ,” थपलियाले भने , “प्रबर्द्धनात्मक कार्यक्रमले बाह्य पर्यटकको विश्वास जित्ने वातावरण तयार हुँदै गएको छ ।”

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालयको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा उत्तरपूर्वी भारतमा प्रबर्द्धनात्मक कार्यक्रम गरिँदै आएको छ । पछिल्ला दिन भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गाल लगायतका स्थानबाट भारतीय पर्यटक आउने क्रममा वृद्धि भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ(निट) पोखराका अध्यक्ष सोम थापाले बताए। “भारतीय पर्यटक अधिकांशले निजी सवारी साधन लिएर आउने गरेका छन्, ” उनले भने, “गर्मी छल्न र घुम्नका लागि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।”

भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् । सामान्यतःभारतीय पर्यटकले दुई रात पोखरामा बिताउने गरेका छन् । होटल एसोसिएसन अफ नेपाल(हान) पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचनले  यो समयमा भारतीय पर्यटकको आगमन वृद्धि हुदाँ होटल व्यवसायी संगसंगै समग्र पर्यटन क्षेत्र उत्साहित भएको बताए ।

केहि वर्षयता वातावरणीय परिवर्तनको असर भारतमा प्रचुर मात्रामा देखिएकोले भारतमा यो समय अत्याधिक गर्मी बढ्ने गरेको र उक्त गर्मी छल्न भारतीयहरु अन्य मुलुकको भ्रमणमा निस्कने गरेको राष्ट्रिय पर्यटन प्रबर्धन समिति पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले बताए । “ठुलो संख्यामा भारतीयहरु यो समय विदेश भ्रमणमा निस्कने गर्दछन,  पोखराको हावापानी भारतीय पर्यटकका लागी यो समय अनुकुल हुनेहुदाँ पर्याप्त  प्रबर्द्धनात्मक कार्यक्रमको माध्यमबाट त्यस्ता पर्यटकलाई पोखरामा तान्नुपर्दछ”,  पहारीले भने ।

भूकम्पपछी पोखरामा भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने  अझै वृद्धि हुनसकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button