
पोखरा न्युज –
पोखराको त्यो असार १७ गते शनिबारको रात सायद धेरैले विर्सन सक्दैनन । एक नाशको झरी जसका कारण पोखराको विभिन्न ठाँउमा गएको पहिरो अनि जन धनको क्षती । पोखराको सराङ्गकोट बाट बग्दै आएको हिलो भेलले पोखरा सिमपानी १ लालटिन बजार वस्ने गोपाल वहादुर रानाको डेरा लाई समेत झपक्कै छोप्यो ।
निष्पट अंध्यारो रातमा बसेको घर समेत बग्न थालेकोले उनले परिवारलाई उठाए र ज्यान जोगाउन सफल भए । तर उनले गरेको पसल र लगाउने लत्ता कपडा पकाउने भाँडा कुँडा जोगाउन सकेनन । हिलोको भेलले एक निमेषमा नै सवै बगायो । उनले त्यती बेला आफ्नी श्रीमती गुप्त र छोरा सुन्दरको ज्यान जोगिएकोमा खुसी थिए । तर आफुले दुःख गरेर कमाएको सियो पनि वाँकी थिएन ।
गोपाल २०४२ साल देखि निरन्तर नदिपुर स्थित माउन्ट अन्नपुर्ण मावीमा गाडीको सहचालकको रुपमा कार्यरत छन । उनी सिमपानीमा आफ्नै नातेदारको घरमा डेरा गरि सोही ठाउँमा श्रीमतीले सानो व्यवसाय समेत सञ्चालन गर्दै आएकी थिइन । उनी २३ गते शुक्रवार आँखा भरि आँसु लिएर आफु कार्यरत विद्यालयको प्राङ्गणको मंचमा उपस्थित थिए । विद्यालयका प्रिन्सीपल सइन्द्र श्रेष्ठले घटनाको दोस्रो दिन नै गोपाललाई दैनिक प्रयोगको आवश्यक सामान किन्न ७ हजार प्रदान गरेको बताए ।
नर्सरी देखि कक्षा १२ सम्म पढने ७ सय ६० जना विद्यार्थीहरुले शुक्रवार उनलाई आर्थिक सहयोग प्रदान गर्न विद्यालयले उनलाई बोलाएको थियो । उनले ति कलिला हातहरुले खाजा नखाई जम्मा गरेको रकम आफुलाई सहयोग गरेकोमा खुसी थिए । कहिँ कतैबाट सहयोगको अपेक्षा नगरेका उनले विद्यालयका विद्यार्थी, विद्यालय, शिक्षक, विद्यालयका कर्मचारीले जम्मा गरेको १ लाख रुपैयाँको चेक कसमस गु्रपका अध्यक्ष तेज गुरुङ्गबाट लिए । आफुले यस्तो आर्थिक सहयोग कहिँ कतैबाट नपाएको बताए । उनलाई सहयोग गर्न विद्यालयले २० हजार, शिक्षक कर्मचरीले ३५ हजार ५ सय, कक्षा नर्सरी देखि १२ कक्षा सम्मका विद्यार्थीले ४० हजार र प्राचार्य श्रेष्ठले ७ हजार सहयोग गरेका थिए ।
कसमस ग्रुपका अध्यक्ष तथा विद्यालयका निर्देशक तेज गुरुङ्गले प्राकृतिक प्रकोपमा परेका आफ्नो विद्यालयका इमान्दार कर्मचारी गोपाललाइ सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सवैलाई धन्यवाद दिए । पोखराको नदिपुरमा अवस्थित माउन्ट अन्नपुर्ण मावी पोखराकै पहिलो निजी विद्यालय हो । विद्यालयलाई हाल कसमस गु्रपले सञ्चालन गरिरहेको छ ।





