पशुपतिमा जनताको ५४ करोड लगानी

पोखरा न्युज –

राष्ट्रिय गौरवको पशुपति क्षेत्रमा चार वर्षको अवधिमा रु ५४ करोड जनताको लगानी परिचालन भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पशुपति क्षेत्र विकास कोषले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा गोविन्द टन्डनले प्रशासनिक सुधार गरी पारदर्शिताको सुरुआत गरिएको जानकारी दिनुभयो ।

विसं २०७० असार २५ गते नियुक्त भई काम सुरु गरेको कोषको पदाधिकारी समूहले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यस अवधिमा पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको जनाएको छ ।

यसैगरी वर्षौंदेखि अलपत्र बनेको भण्डारखालमा आकर्षक बगैँचा निर्माण कार्य अन्तिम चरणमा पुगेको, निर्मल अखडाअघि हंसमण्डप र विद्युतीय शवदाह गृह निर्माण गरी सञ्चालनमा आउनु पनि उदाहरणीय काम भएको डा टन्डनले बताउनुभयो ।

भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि कल्याण शर्माले रु तीन करोड लगानी गर्ने सम्झौता कोषसँग गर्नुभएको छ भने पशुपति क्षेत्रको चार शिवालय सत्तल पुनःनिर्माणका लागि रवीन्द्र पुरीले पनि कोषसँग रु तीन करोडको सम्झौता गर्नुभएको छ ।

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले रु डेढ करोड सहयोगमा १२ कोठाको किरियापुत्री भवन निर्माणको सम्झौता गर्नुभएको छ । पशुपति सङ्ग्रहालय निर्माणका लागि नेपाल इन्भेष्टमेन्ट बैंकसँग रु चार करोड ३५ लाखको सम्झौता गरी काम सुरु भएको छ ।

पशुपतिको दक्षिण मूल ढोका निर्माणका लागि नेपाल एसबिआइ बैंकसँग रु तीन करोड २५ लाखको सम्झौता भएको सदस्य सचिव टन्डनले बताउनुभयो ।

यसैगरी स्टेट बैंक अफ इन्डिया ग्रुपका अध्यक्ष अरुन्धती भट्टाचार्यले भारतका २७ हजार एटिएममा पशुपतिनाथलाई सहयोग गरौँ भन्ने सूचना जारी गर्न सैद्धान्तिक सहमति जनाउनुभएको छ । यस सम्बन्धी छिट्टै नै सम्झौता गर्ने तयारी भएको सो अवसरमा जानकारी गराइयो ।

यसैगरी भारतको सहयोगमा तिलगङ्गामा कोषले उपलब्ध गराएको १४ रोपनी जग्गामा ४०० भक्तजन बस्नसक्ने तीनतारे धर्मशाला निर्माण सुरु भएको छ । रु २२ करोडको लागतमा निर्माण हुने उक्त धर्मशाला एक वर्षमा सम्पन्न हुने कोषले जनाएको छ । यसको निर्माणपछि पशुपति आउने भक्तजनका लागि सुविधा पुग्नेछ । यसले नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कोषको विश्वास छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button