कीर्तिमानी आरोही भन्छन् ‘सगरमाथालाई आराम दिनुपर्‍यो ’

 

पोखरा न्युज –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

“सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक-दुई वर्ष आराम ‘रेस्ट’ दिउँ ।”

सर्वोच्च शिखर सगरमाथाको अस्तित्वलाई जोगाउन त्यहाँको सबै फोहर सफा गर्नुपर्ने भएकाले आरोहणलाई केही समय रोकी अन्य ‘भर्जिन’ हिमालमा आरोहण सञ्चालन गरिनुपर्ने आरोही पेम्बाको भनाइ छ ।

पहिला दुई-तीन वर्ष सरसफाइ गरेको भए पनि त्यतिखेर हिउँ धेरै भएकाले सार्थकता पाउन नसकेको अनुभव सुनाउँदै आरोही शेर्पालाई यस वर्षको वसन्त ऋतुमा सगरमाथा चड्दा चुचुरोमा देखिएको पाँच-सातवटा आरोहीको शवले खिन्न बनाएको छ ।

सगरमाथाको आठ हजार मिटरमाथी मात्रै झन्डै पाँच टन फोहर रहेको दाबी गर्ने शेर्पाका अनुसार सबैभन्दा बढी क्याम्प चारमा छ, त्यहाँ फराकिलो चौर रहेकाले धेरै आरोहीको सामान फालिएको छ ।

अर्का कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा पनि सगरमाथाको क्याम्प चार माथी शव थुप्रिएकाले प्रदूषित बन्दै गएको बताउनुहुन्छ । बाह्र पटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो –“सगरमाथाको क्याम्प चारमाथी आठवटा शव देखेको छु, धेरै पहिला देखिका शव त्यहाँ छन् केही त हावाले उडाएर लगिसक्यो । अघिल्लो वर्ष मृत्यु भएका आरोहीका शव पनि बाटोमै छरपष्ट देखिन्छन् ।”

आरोहणको ६४ वर्षे इतिहासमा देशको पहिचानलाई विश्वमा फैलाउन सरगमाथाको योगदान छ । विश्वकै सम्पत्तिका रुपमा रहेको यसको साखलाई जोगाउन चुनौती बढेको स्वयम् आरोही बताउँछन् । सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापन नहुनु र अवैध आरोहणले यसको साख गिराउने होकी भन्ने उनीहरुमा चिन्ता छ ।

पद्यात्रा र भिडियो खिच्न जानेको संख्या बढ्दो छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामा पहिलो मानव पाइला टेका थिए । त्यसयता करिब आठ हजार पर्वतारोहीले सो शिखर चुमिसकेका छन् । आरोहणकै क्रममा २९० भन्दा बढी आरोहीले ज्यान गुमाइसकेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल मध्ये नेपालमा आठवटा रहेका छन् ।

बर्सेनि बढ्दो आकर्षणको भीड र अस्वस्थ्य प्रतिस्पर्धाले यसको गरिमालाई कमजोर पारेको छ । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पा सगरमाथाको गरिमालाई जोगाई आरोहणलाई गुणस्तरीय बनाउन उचित नीतिको आवश्यकता रहेको र यसलाई ‘स्पेसलाइज’ गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

सगरमाथामा सफाइ चाहियो

सगरमाथालाई आराम नै चाहिएको होत, भन्ने जिज्ञासामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा आरामभन्दा पनि फोहर व्यवस्थापन चुनौतिपूर्ण हो भन्दै सफाइलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

‘इको एभरेष्ट एक्स्पिडिसन’ले सन् २००८ देखि हालसम्म सगरमाथाबाट १७ हजार ७०० किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिसकेको छ । ती फोहर साउथ पोल, क्याम्प दुई र तीनबाट सङ्कलन गरिएको हो । सगरमाथाको अर्को प्रमुख चुनौती आरोहीको दिसापिसाब हो । यसले हिमाललाई प्रदूषित बनाउने गरेको अध्यक्ष शेर्पा बताउनुहुन्छ ।

“सगरमाथा क्षेत्रमा अझै थुप्रै शव बाँकिरहेका छन्,” उहाँले भन्नुभयो ।

विभिन्न कम्पनीले आ–आफ्नै ढङ्गले फोहर सङ्कलन गर्ने भएकाले अहिलेसम्म कति फोहर जम्मा गरियो भन्ने यकिन विवरण छैन । हिमालको फोहर २०० वर्षसम्म पनि जस्ताको तस्तै रहने बताइन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले आरोहण याममा आरोहीले लगेका खानेकुरा, कोक, क्यानका बोतललगायत फोहर उतै छोडेर आउने प्रवृत्तिका कारण फोहर बढेको र समितिले हरेक याममा सफाइ गर्दै आएको बताउनुभयो । क्याम्प दुई भन्दामाथी चुचुरोसम्म हिमाल धेरै पग्लने हुँदा सरसफाइमा केही समस्या आउने गरेको उहाँको भनाइ छ ।

हिलारी ‘स्टेप’ भत्किएकै होत ?

विसं २०७२ को गोरखा भूकम्पपछि अन्तर्राष्ट्रियरुपमै चर्चित हिलारी ‘स्टेप’ भत्किएको भन्ने चर्चा अन्तर्राष्ट्रिय जगतमा समेत छायो । तर, यसबारे विभिन्न आरोही तथा त्यससँग सम्बन्धित संस्था विज्ञको फरक धारणा आइरहेको छ ।

आरोही पेम्बा शेर्पाका अनुसार हिलारी स्टेप भत्किएको धेरै हल्ला भए पनि त्यो यथार्थ नभई हिलारी स्टेप माथिको ढुङ्गो खसेको हो ।

एनएमए अध्यक्ष शेर्पा हिलारी स्टेप केही परिवर्तन (ढुङ्गा सरेको) पाइए पनि यसको वास्तविकता पत्ता लगाउन आधिकारिक अनुसन्धानका लागि सरकारले पहल गर्नुपर्ने खाँचो औंल्याउनुहुन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार यस वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी गरी ४४८ जनाले सगरमाथा आरोहण गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button