पर्यटन, ऊर्जा, सडक सञ्जाल विस्तार प्राथमिकतामा

पोखरा न्युज –

अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आव २०७४-७५ का लागि रु २८ करोड ६५ लाख रकम विनियोजन गरिएको बताउनुभयो ।

पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कुँवरले गाउँपालिकामा सबै वडालाई छुने गरी चक्रपथ निर्माण, स्थानीय सडक सञ्जाल विस्तारका साथै ऊर्जा उत्पादनका योजना अघि बढाइने बताउनुभयो । “गाउँपालिकाभित्र अपार जलस्रोतको सम्भावना छ,” उहाँले भन्नुभयो, “जलस्रोतको उपयोगमार्फत उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने गरी विद्युतीय ऊर्जा उत्पादन गर्न यस क्षेत्रका स्थानीयवासीको कम्तीमा एक घर दश शेयरको अवधारणा अघि बढाइने छ ।”

विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्गको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले यसका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी विश्व बजारमा प्रचारप्रसार गरिने जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण अन्नपूर्ण गाउँपालिकाभित्रका पर्यटकीयस्थलको पहिचान गरी तिनीहरूको विकास गर्ने बताउँदै उहाँले यहाँका पदमार्गको मर्मतसम्भारका साथै नयाँ पदमार्गको पहिचान र विकास गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका अन्नपूर्ण आधार शिविर, घान्द्रुक, लान्द्रुक, उल्लेरी, अष्ट्रेलियाली शिविर, तालच्याउनी, मणिको डाँडा, काडे, नौडाँडा, पञ्चासेलगायत पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिनेमा उहाँको जोड छ ।

कास्कीका प्रजिअ तारानाथ अधिकारीले अन्नपूर्ण गाउँपालिका अपार सम्भावना बोकेको क्षेत्र भएको बताउँदै सम्भावनाको उजागर र विकास गर्न सके गाउँपालिकालाई समृद्धि र विकासको मार्गमा लैजान सकिने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद शुक्रराज शर्माले पर्यटन, ऊर्जालगायत क्षेत्रमा धेरै सम्भावना रहेर पनि तिनीहरूको उपयोग गर्न नसकिएको बताउनुभयो । नेकपा ९एमाले०का नेता एवं पूर्व जिविस सभापति पुण्य पौडेलले भौगोलिक, जैविक एवम् सांस्कृतिक रुपमा विविधतायुक्त अन्नपूर्ण गाउँपालिकाको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक भएकामा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख सगुन गुरुङ, काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेकपा ९माओवादी केन्द्र०का जिल्ला सदस्य पुण्य पौडेल, राप्रपाका पूर्वकेन्द्रीय सदस्य कुलबहादुर गुरुङ, दलित महिला जनप्रतिनिधि गौमाया नेपालीलगायतले विकासमा राजनीतिकरण गर्न नहुने बताउँदै सबैको सहकार्यमा गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button