नेपालका विश्व सम्पदा जोगाउन जापानीद्धारा वृक्षरोपण

 

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा न्युज –

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थललाई संरक्षण गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेका तीस जनाभन्दा जापानी नागरिकले चाँगु क्षेत्रमा वृक्षरोपण गरेका छन् ।

जापानको योकोहामा सिटी विश्वविद्यालय र यामदा वी कम्पनीका कर्मचारी प्रत्येक वर्ष असारमा नेपाल आएर चाँगुनारायण मन्दिर परिसरमा परम्परागत चाँपको वन पुनःस्थापना गर्ने अभियानमा जुट्छन् । यो समूहले शनिबार पनि चाँगुनारायण मन्दिरसँग जोडिएको चाँगु सामुदायिक वनमा दुई हजार ८८३ वृक्षरोपण गरेको छ ।

चाँगुनारायणमा परम्परागत चाँपको वन पुनःस्थापना गर्न स्थानीयवासीको सहयोगमा जापानी समूहले विसं २०७१ देखि वृक्षरोपण गर्दै आएको हो । यहाँ हालसम्म १३ जातका १० हजारभन्दा बढी बिरुवा रोपिएको कार्यक्रम संयोजक एवम् जापानमा कार्यरत नेपाली अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिव हेमलाल अर्यालले प्राकृतिक प्रकोपको जोखिम रहेको भिरालो जमिनमा जापानीले विकास गरेको ‘मिवायाकी’ विधिले बिरुवा रोप्दा जोखिम न्यूनीकरण भएकाले चुरे क्षेत्रमा प्रयोग गर्न अध्ययन सुरु भएको जानकारी दिनुभयो ।

“‘मिवायाकी’ विधि भनेको ठाउँअनुसारको स्थानीय प्रजातिका बिरुवालाई रोप्ने, आयातित बिरुवालाई हटाउने विधि हो, जापानमा यो विधिबाट प्राकृतिक प्रकोप न्यूनीकरण भएकाले नेपालको चुरे क्षेत्रमा पनि यसलाई प्रयोग गर्न अध्ययन शुरु गरेका हौँ” – उहाँले भन्नुभयो ।

चाँगु क्षेत्रमा यो विधिबाट बिरुवा रोप्दा पहिरोको जोखिममा परेको चाँगुनारायण मन्दिरलाई आड पुगेको दोलागिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक पञ्चनारायण भँडेलले बताउनुभयो ।

कार्यक्रममा जापानको योकाहामा सिटी विश्वविद्यालयकी प्रा डा काजुए फुजिवाराले विसं २०७६ देखि चुरे क्षेत्रमा पनि यो विधिबाट वृक्षरोपण गर्न अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

यो विधिबाट चाँगु वनमा चाँप, चिलाउने, लाँकुरी, काफल, सुगन्ध कोकिला, फलाँट, तेजपात, प्वाँले, पैयुँ, कटुस, खरी, रुद्राक्ष र कनिके जातका बिरुवा रोपिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button