रातो हाब्रे संरक्षणका लागि अब विद्यालयबाट शिक्षा

पोखरा न्युज –

विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ ।

स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर कक्षा ६ र ७ मा पठनपाठन शुरु गरिने भएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएको रेडपाण्डाको संरक्षणमा क्रियाशील इलामका अगुवा फिञ्जु शेर्पाले बताउनुभयो ।

इलामका सात, पाँचथरका १० र ताप्लेजुङका ११ विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा वातारण संरक्षण शिक्षा अध्यापन गराइने छ । इलामका माई जोगमाई गाउँपालिकाका ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाका राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइने निर्णय भइसकेको छ ।

कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको नेटवर्कका शेर्पाले बताउनुभयो । कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐनकानुन, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका पाठ छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यसले हाब्रेको संरक्षणमा सहयोग पुग्ने सरोकार भएकाहरुको विश्वास छ ।

“यो वर्ष इलामको सन्दकपुर गाउँपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन थाल्छौँ”, शेर्पाले भन्नुभयो, “अर्को शैक्षिक सत्रमा इलामका सात वटा विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुन्छ ।” विद्यालयमा वातावरण विज्ञान विषय अध्यापन गराउँदै आएका शिक्षकले सो पुस्तक पढाउने छन् ।

लोपोन्मुख रातो हाब्रेको संरक्षण विसं २०६३तिरदेखि हुन थालेको हो । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा करिब २०० को हाराहारीमा हाब्रे पाइने अनुमान गरिएको छ । प्रजननका समयमा हाब्रे पाइने क्षेत्रमा पर्यटकलाई तीन महिनाका लागि आवातजावत नै बन्द गरिन्छ ।

अन्य समयमा रातो हाब्रे हेर्न आएका पर्यटकले सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र हेरालु अनिवार्य लिएर जानुपर्छ । हाब्रेलाई यताउता धपाउने, जडीबुटी उखेल्ने र बोटबिरुवामा हानि पु¥याउनु हुँदैन ।सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वनलगायत जंगलमा हाब्रे अवलोकनका लागि आउने विदेशी पर्यटक भए रु दुई हजार र नेपाली भए रु एक हजार सामुदायिक वनलाई प्रवेश शुल्क तिर्नुपर्छ ।

इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् । रासस
–––––––

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button