पोखरामा महिला तथा बालबालिकालाई लक्षित गरी अस्पताल सञ्चालन

 

पोखरा न्युज –

महिला एवं बालबालिकाको उपचारलाई लक्षित गरी पोखरामा आजदेखि अन्नपूर्ण बाल तथा महिला अस्पताल प्रालि सञ्चालनमा आएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१० शिव चोकमा स्वास्थ्य क्षेत्रमा आबद्ध १५ जनाको लगभग रु पाँच करोडको लगानीमा सञ्चालनमा ल्याइएको हो । चौबिसै घण्टा सञ्चालन गरिने अस्पतालमा पाँच आइसियु, पाँच एनआइसियु र दुई पिआइसियु सेवासहित २५ श्यया रहेको सञ्चालक समितिका अध्यक्ष डा सुशील ढुङ्गेलले जानकारी दिनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालको आज एक समारोहका बीच उद्घाटन गर्दै अस्पतालले यस क्षेत्रमा सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वडाध्यक्ष राजकुमार गुरुङले स्वास्थ्य क्षेत्रमा विशिष्टिकृत सेवा आवश्यक हुँदै गएको बताउँदै महिला तथा बालबालिकालाई लक्षित गरी सञ्चालनमा आएको अस्पतालबाट सबै लाभान्वित हुने बताउनुभयो ।

जनतालाई राज्यले तोकेको सेवा सुविधा प्रदान गर्नुका साथै भविष्यमा मुटुरोग केन्द्र सञ्चालन गर्ने अस्पतालको लक्ष्य रहेको सञ्चालक समितिका सचिव मणि न्यौपानेले बताउनुभयो ।

समाजसेवी भरत केसी, महिला समन्वय समितिकी संयोजक निमा कार्कीलगायतले अस्पताल सञ्चालनसँगै सर्वसाधारणले सर्वसुलभ एवम् गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पताल शुभारम्भका अवसरमा आज अस्पताल परिसरमा रक्तदान आयोजना गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button