
पहिलो दिनमै विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता,
पोखरा न्युज –
नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आज देखि पोखरामा पाँचदिने बृहत् इक्यान शैक्षिक मेला शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान)को आयोजनामा आज शुक्रबार सुरु भएको ५ औ इक्यान मेला आइतबार सम्म सञ्चालन हुनेछ । मेलामा ‘विदेशमा पढाइ हुने कोर्ष, विभिन्न देशको राहदानी नीतिका बारेमा विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर जानकारी गराइनेछ ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सो मेलाको उद्घाटन गर्दै शीप र क्षमता हुने प्रतिभावान् युवालाई कसैले पनि रोक्न नसक्ने बताए । उच्च शिक्षाका लागि विद्यार्थी विदेश जाने र पुनः स्वदेशमा आएर शिक्षाको उपयोग गर्दै देशको विकासमा जुट्नुपर्ने बताउँदै उनले भने, “बौद्धिक जनशक्ति विदेशिनुबाट रोक्न राज्यको नीति आवश्यक छ ।”
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यवाहाक अध्यक्ष निरज सिटौलाले पोखरामा इक्यानले उदाहरणीय काम गरेको बताउदै कास्कीकै सिको केन्द्रले गरको बताए । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका द्धितिय उपाध्यक्ष विष्णुहरी पाण्डे, महासचिब सन्तोष प्याकुरेल, नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) कोषाध्यक्ष रुद्रप्रसाद अर्याल लगायतले इक्यानले सदैब विद्यार्थी तथा अभिभावकको हितमा काम गर्दै आएको बताउदै मेलामा इक्यानमा अवाद्ध सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित संस्थाहरुले मात्र परार्मश दिने धारणा व्यक्त गरे ।
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, योग्यता, भावि सम्भावना तथा अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरेको नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) का अध्यक्ष मीलन तिवारीले बताए ।‘स्वदेश तथा विदेश स्थितकलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुने सक्ने छात्रबृत्ति, सहुलियत, सुविधाएवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँच लगायत विविध विषयका लागि मेला प्रभावकारी बनेको छ,’उनले भने । ‘विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर बैदेशिक अध्यनका लागि सुसूचीत गराउनु नै मेलाको उद्धेश्य हो ।’ तिवारीले भने ।
मेलामा स्वदेशदेखि विदेशका शैक्षिक परामर्शदाता र कलेजहरुका प्रतिनिधि सहभागी भएको मेला संयोजक एवं इक्यान कास्कीका उपाध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । मेलामा क्विन्स फोर्ड कलेज, नर्स ट्रेनिङ अस्ट्रेलिया, सिड्नी मेट्रो कलेज र प्यासिफिक कलेज अफ टेक्नोलोजीको विशेष सहभागिता रहेको थापाले बताए ।
सरकारबाट स्वीकृती प्राप्त प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्थाहरुकाअनुभवी एवं तालिम प्राप्त परामर्शदाताहरुका स्टल मेलामा राखिएको प्रचारप्रसार संयोजक पूर्णचन्द्र न्यौपानेले बताए । ‘अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन लगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको मेलामा सहभागिता रहेको छ ,’ न्यौपानेले भने, ‘यो प्रदेश नम्बर ४ को सबैभन्दा ठूलो शैक्षिक मेला हो ।’ मेला अबधिभर ३० हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकले मेलाको अवलोकन गर्ने विश्वासका साथ आफुहरु लागिपरेको न्यौपानेले बताए ।
मिराकल इन्स्टिच्युट प्रालिको प्रस्तुति रहेको मेलाको शीर्ष प्रायोजक बिकन प्रिमियर इन्टरनेसनल इजुकेसन प्रालि छ । एसोसियट पार्टनरको रुपमा फरेन लिंक छ भने पावर्डबाईमा एक्स्पर्ट एजुकेसन एन्डा भिसा सर्भिसेस छ । मुख्य प्रायोजन किङफिसर इजुकेसनले गरेको मेलाको सपोर्टटेडबाईमा ट्रिनिटी इजुकेसन फाउन्डेसन छ । मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृतप्राप्त परामर्शदाताहरु ६५ स्टल रहेका छन् ।
मेला अवलोकन गरी लक्कीड्रमा भागलिने मध्येबाट प्रत्येक दिन एक जनालाई स्मार्टफोन प्रदानगरिने सचिव भुवन क्षेत्रीले जानकारी दिए । ‘मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थी र उनका अभिभावक लक्की ड्र मार्फत दैनिक एक जनालाई स्मार्टफोनको व्यवस्था गरिएको हो,’ क्षेत्रीले भने । मेला शुरु भएको दिनमै विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ ।





