सुदूरपश्चिमा सुरु भयो ‘गौरा पर्व’

पोखरा न्युज –

सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व शनिबारदेखि विधिवत् रुपमा शुरु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।

महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।

सरकारले पनि यस वर्ष गौरा पर्वको प्रमुख दिन आगामी मंगलबार सार्वजनिक बिदासमेत दिएको छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् । यतिबेला कञ्चनपुरको भीमदत्तनगरलगायत विभिन्न स्थानहमा हरेक दिन देउडा खेल सञ्चालन भइरहेका छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।

यो पर्वलाई एकताका पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उहाँकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ ।

पछिल्ला केही वर्षयता देशको राजधानीसम्म समेत देउडाले लोकप्रियता पाउन थालेको छ । बसाइँ–सराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडाप्रति सबैको आकर्षण बढेको छ । महाकाली साहित्य संगम कञ्चनपुरका पूर्वअध्यक्ष वीरबहादुर चन्दले गौरा पर्वलाई बढावा दिने काम भइरहेको बताउनुभयो ।

“सुदूरपश्चिमबाट रोजगारी तथा अध्ययनका लागि विदेशमा छरिएर रहेकाहरुले पनि गौरा पर्व मनाइरहेका छन्”, अध्यक्ष चन्दले भन्नुभयो, “दुई दशकयता सुदूरमा यसले निकै बढावा पाउँदैछ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button