फलेवासमा मकै भण्डारण घर निर्माण

पोखरा न्युज ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको फलेवासमा मकै भण्डारण घर निर्माण भइरहेको छ ।

फलेवास नगरपालिका–५ खानीगाउँमा निर्माण भइरहेको सो गोदामघरमा २५ टन मकै भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदामघर निर्माण गर्न लागेको हो ।

खानीगाउँ, मुडिकुवा, शंकरपोखरी, थापाठाना, लिमिठाना र ठानामौलामा उत्पादन हुने मकैको बीउ थन्क्याउन गोदामघर बनाउन लागिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । कृषकले उत्पादन गर्ने मकैको बीउ जोनले खरिद गरेर बजारीकरण गर्ने छ ।

गत आर्थिक वर्षबाट निर्माण थालिएको गोदामघर निर्माणका लागि अहिलेसम्म रु २३ लाख खर्च भइसकेको छ । निर्माण चालु आवको अन्तिमसम्ममा सक्ने लक्ष्य छ । गत आवदेखि मकै जोन कार्यक्रम सञ्चालन भएपछि समूह र सहकारी गठन गरेर कृषकले मकै उत्पादन गरिरहेका छन् ।

यस वर्ष झकलक कृषि सहकारीले १५ टन, आम्बोट कृषक समूहले पाँच टन र लिमिठाना बीउ उत्पादक समूहले तीन टन मकैको बीउ उत्पादन गरेको छ । गोदामघर निर्माण भइनसकेकाले यस वर्षको बीउ सिधै बजार मूल्यका आधारमा बिक्री गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

 

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button