ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार पोखराका पत्रकार अथकलाई

पोखरा न्युज ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार –२०७४, यो वर्ष पोखराका पत्रकार कमल पौडेल अथकलाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजका सल्लाहकार पीताम्वर शर्मा नेपालीको संयोजकत्वमा संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठ र सचिव केशवराज ढकाल सदस्य रहेको तीन सदस्यीय छनौट समितिले अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पत्रकार अथक पोखराको रेडियो सराङकोटका समाचार प्रमुखको साथै हिमदूत राष्ट्रिय दैनिक र छुस्के डटकम लगायतका संञ्चार माध्यममा आवद्ध रहेका छन् । उक्त निर्णयलाई वुधवार वसेको समाजको कार्यसमिति वैठकले पास गरेको सचिव केशवराज ढकालले जानकारी दिएका छन् ।

पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ तथा सम्मान पत्र र दोसल्ला रहेको छ । संस्थाका कार्यसमिति सदस्य ईच्छाबहादुर वाग्लेकी आमा सेतीमाया वाग्लेको संझनामा स्थापित ५१ हजार रुपैयाँ राशीको अक्षयकोष मार्फत् प्राप्त हुने व्याजवाट ज्येष्ठ नागरिकका हक अधिकारका विषयमा मिडिया मार्फत समाचार सम्प्रेषण गरी समाजमा जागरण ल्याउने एक जना पत्रकारलाई समाजले प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आएको समाजका सचिव ढकालले जानकारी दिएका छन् ।

उक्त पुरस्कार यही कार्तिक ११ गते पोखरामा हुने ज्येष्ठ नागरिक समाज नेपालको पाँचौ वार्षिक साधारण सभाको अवसरमा हस्तान्तरण गरिने सचिव ढकालले जानकारी दिएका छन् ।

साथै गत २०७३ साल चैत्र ९ गते घोषणा गरीएको ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७३ विशेष कारणवस स्थगित भएकोमा सो पुरस्कार पनि सोही दिन प्रदान गरिने समाजले जनाएको छ । उक्त पुरस्कार कान्तिपुर दैनिकका तनहुँ सम्वाददाता पूर्णवहादुर विकेलाई प्रदान गर्ने निर्णय भएको समाजले जानकारी दिएको छ । पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ तथा सम्मान पत्र र दोसल्ला रहेको छ । सो अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिनुको साथै ज्येष्ठ नागरिक आवाज वार्षिक मुख पत्र चौथो अंक विमोचन गरिने अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button