विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा धादिङमा पुनःमतदानको माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर सिलवाल र प्रदेशसभाका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रदेशसभा खका स्वतन्त्र उम्मेदवार गणेश बसौलाले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ को मुक्रावदेवी मावि मतदान केन्द्रमा पुनःमतदानको माग गर्दै संयुक्त रुपमा उजुरी दिनुभएको हो ।

यही मंसिर १० गते सम्पन्न निर्वाचनमा मुक्रावदेवी मावि मतदान केन्द्रमा ८१५ मतदाता रहेकामा ८०९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

संयुक्त उजुरीमा मृतक २०, विदेशिएका २५ र कर्मचारीका रुपमा खटिएका दुई जनाले मतदान गरेको भन्ने देखिएको तथा फर्जी मतदान गराई वाम गठबन्धनका प्रतिनिधिलाई ज्यान मार्नेसम्मका धम्कीसमेत दिइएको भनी सो केन्द्रको पुनःमतदान गराउन माग गरिएको उजुरीकर्ता सिलवालले बताउनुभयो ।

सो मतदान केन्द्र राप्रपाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बुद्धिमान तामाङ र राप्रपाबाट प्रदेशसभा क्षेत्र नं खका प्रत्यक्षतर्फका उम्मेदवार डम्मर तामाङले मतदान गर्ने मतदानस्थल हो ।

सो मतदान केन्द्रका मतदातामध्ये ४७ मतदाता उपस्थित नभएको र उपस्थित हुन सक्ने अवस्था नै नभएकामा छ मतदाता मात्र अनुपस्थित भएको भनी फर्जी मतदान गराइएको उजुरीमा भनिएको छ । मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले उजुरी आएको र यसको अध्ययनपछि कानूनी प्रक्रिया अपनाइने जानकारी दिँदै मतगणना प्रक्रिया भने नरोकिने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button