पोखरा न्युज – १३ फागुन ।
– अनुज कुलुङ
एउटा मननयोग्य कुरा, वास्तवमा हाम्रो समाज कस्तो छ? हामी कुन परिवेशमा छौ? हाम्रो सामाजिक प्रणालीको धरातल के ? सोच्नुपर्ने बेला आएको छ, हामी समाजभन्दा बेग्लै रहेर। हेर्नुपर्ने बेला आएको छ समाजभन्दा माथि पुगेर। चाहे त्यो विभिन्न चेतनाको पुल तरेर नै किन नहोस्, हाम्रो समाजको वास्तविक मुहार छिचोल्न अति आवश्यक छ।
ईश्वरले श्रृष्टि गरेको हाम्रो भुगोल सुन्दर त छ। तर, यो माटोमाथि राज्य गर्ने चेत-अचेत मानिसहरुको अनुहार सा¥है धमिलो। धमिलोभित्रको पनि घृणायुक्त संस्कार खोतल्दै जाँदा त्यसैभित्र डुबेर गुमनाम भइएला भन्ने डर एकातिर हाजिर छ। त्यहाँ, कुनै मानवीय संवेदनाको कुरा रहेन। त्यहाँ कुनै प्रेमको कुरा रहेन। त्यहाँ कुनै वास्तविक जीवनको साँचो जीवनयापनको कुरापनि रहेन। त्यहाँ रह्यो, हरदम पीडा, घृणा, अपहेलना, दाषी जीवनको जीवनयापन।
यस्तै, वेदनाहरुले त्यही उत्पीडनमा परि बाँचिरहेको वादी नारीहरुको वास्तविक जीवन कथा हो ‘नथिया’ उपन्यास। सचेत जनमानसमा धेरै कम पुगेको थियो बादी कथा। सायद हिँजो पनि कोही न कोही वादी कथा टिप्न गएका त पक्कै थिए होलान्। उनीहरु पक्रैया गाउँमै तरलताको प्रयोगात्मक परिक्षणमै भुलेर कलमले लेख्न सकेन होलान्। कि त उनीहरुलाई त्यो कथा लेख्न शाहस नै आएन। कुनै न कुनै आत्मग्लानीले पोलिरहेका होलान् कलमजीवीहरुलाई। तर, ‘नथिया’ नामको एउटा उपन्यास निकै मेहनत र लगनको बाबजुद लेखक सरस्वती प्रतिक्षाले नेपाली वाङ्मयको खाली स्पेसलाई पूरा गरेका छन्। वाङ्मय क्षेत्रमा उत्रन भनिकन सिङ्गो नेपाली समाजभित्रै लुकेको अँध्यारो पाटो खुल्ला गरिदिएका छन्।
नदेखिएका र देख्नै नसकिने ति हिमालका डरलाग्दो हिउँहरु ‘नथिया’मा देखिए। छोरी जन्मिदा नाक खुम्च्याइरहने हाम्रो समाजवादी बस्तीमा छोरी जन्मिदा खुशी नै रहे। तर, ति अवोध छोरीको लागि धरतीमै नारकीय जीवन ब्यतित गर्न पर्छ भन्ने परिवारलाई थाहा छ। समाजलाई थाहा छ। तर, छोरीलाई थाहा हुदैन। नारकीय वातावरण नै घुलमिल हुनु रहर भन्दापनि धेरै परको बाध्यता हो।
पक्रैया गाउँको कथा मैले मधुरो पारामा सुनेको थिएँ। गाउँको नाम नै नसुने पनि पत्रिकातिर बेलामौकामा त्यहाँका कथाहरु सुनिन्थ्यो । अचम्म लाग्थ्यो, सकिन्थ्यो। आफ्नो परिवारको छाक टार्न आफ्नै छोरी, आफ्नै श्रीमती, आफ्नै दिदीबहिनीहरु अरुसंग रात बिताउन दिने र त्यस बापत अलिकति पैसा लिएर जीवन चलाउनुपर्ने जिन्दगीको कथा कस्तो बैराग लाग्दो?
‘नथिया’ पढेपछि लाग्छ कि यो समाजमा सामलीको जस्तो जिन्दगी पनि गुज्रदै छ? मानिसको जिन्दगीमा संघर्षको पहाडहरु त अनेक हुन्छन् तर सामलीको जस्तो जिन्दगीको पहाड त बेग्लै आँट र साहस भएकोले मात्र नाघ्न सक्छ। सामलीको जीवनमा आएका पुरुषहरुको अनेकौं ब्यवहारले समग्र पुरुषको साँचो चरित्रको बयान दिएको छ। जय नेपाल, बेखमान, रत्नमान, मेजर मानबहादुर, रेन्जरसाप, मोहम्मद अनि दिवाकर। यि पात्रहरु हाम्रो समाजको प्रतिनिधि पात्रहरु हुन् । र यि पात्रहरुभित्र हामी आफै पनि छौं।
सामलीले शरिर नबेची परिवारको जिन्दगी बचाउन पनि सक्थ्यो । तर वातावरण कहिले बन्न सकेन । सामलीति वाताबरणबाट मुक्तिको लागि पक्रैया नछोडेको पनि हैन । तर विकल्पमा पक्रैया फर्कनुको साटो अन्यकुनै बाटोहरु थिएन । त्यसैले फेरी त्यहि समाजका साहित्यकार चेतनाथ इन्द्रेणी, शेरे डन, व्यापारी कालीप्रसाद रोका, नेता गजमान देउवा, ठेकेदार गणेश शर्मा,पबित्र कहलिएको मन्दिरमा रहेको पण्डित ज्यू, विद्यार्थी रमेश छन्त्यालहरुले भोगिरहे सामलीलाई अलिकति रुपैंयामा । अनि त्यसैमा सामली जीवन गुजारीरही ।
सरस्वती प्रतिक्षाद्धारा लिखित यो उपन्यासले लेखक आफैलाई चुनौति दिने कुरा आफ्नो ठाउँमा छ। त्यो भन्दानि ठूलो यो पुरै नेपाली समाजलाई चुनौति दिएको छ। सरकारलाई चुनौति दिएको छ। हरेक चेतनशील प्राणीलाई चुनौति दिएको छ। हुनलाई कथा ०३५ देखि ०४७ सालसम्मको कथा भनेर भनिएको छ। तर, अझैपनि सामलीमय अवशेषहरु त्यस ठाउँमा नहोला भन्न सकिदैन। अझ, भन्ने नै हो भने ति अवशेष र रोगहरु पक्रैयादेखि अन्य समाजमा भित्रभित्रै सर्दै आएको त होइन? पक्रैया गाउँको यो महान दुखद त छँदैछ। तर, पक्रैयादेखि अन्य समाजको पृष्ठभुमी पनि हेरौं न। किन नेपाली चेलीहरु मुम्बईको कोठीमा छन्? किन कुबेतमा बेचिन्छन्? किन ईराकमा बेचिन्छन्? यि सबै सामलीमय अवशेष होइन? के यिनिहरु त्यही आफ्नै परिवारको दुई छाकको बाध्यता र विवशताले होइन त? यसप्रति जिम्मेवार को बन्ने त? सरकार की समाज?
यो पुस्तकले धेरैलाई प्रश्न चिन्ह उठाएको छ। सामलीले त प्रश्न उठाएकै हो। सायद, अझैपनि रेन्जरहरु, पुलिस ईन्सपेक्टरहरु, साहित्यकारहरु, डनहरु, पण्डितहरु र हामी सबै खोक्रो दर्शनको उच्चारणसम्म गर्छौ। तर, सोंच उही भोगविलासीतिरै। ऋनि, त्यसैको परिणाम जस्तो लाग्छ पक्रैया जस्तो समाजहरु। मलाई लाग्छ, ‘नथिया’ उपन्यास हरेक नारीले पढ्नै पर्ने पुस्तक त हो नै। तर, त्यो भन्दापिन धेरै चाँही हरेक पुरुषले पढ्नुपर्ने पुस्तक हो। संग्रहित गर्नैपर्ने पुस्तक हो। लेखनको माध्यमबाट समाजमा लुकेका यस्तो भयभित कुराहरुलाई अगाडी ल्याएर सबै सामु कलामार्फत प्रस्तुत गर्नु वास्तवमा एउटा जिम्मेवार लेखकलेमात्र त्यसो गर्न सक्छ। यो निकै तपस्या र साधनाको उपज निक्लिएको पुस्तक मानिन्छ।
संकल्प एउटा राम्रो उपन्यासकार बन्छु भनेर आफ्नो साथीको अटोग्राफमा भरेका सरस्वती प्रतिक्षाले त्यो भन्दापिन माथि यही समाजको लागि जिम्मेवार उपन्यासकार बनेर देखाइन्, सामलीको कथा उनेर। पढ्दा जति गज्जबको अनुभूत हुन्छ, यो हरेक कथाहरुलाई मिलाएर कलात्मक शब्द शब्दमा उन्न सक्नुपनि लेखकको सफलता मान्दछु। २०७ पेजको बीचतिर एउटी वदिनीले जब पुलिसहरुले जेलमा थुन्दा भन्छ त्यो शब्दलाई यहाँ राखेर मेरो शब्दहरुको भारी बिसाउँछु।
‘देशमा प्रजातन्त्र आया भनीकन रेडियोले दिनदिनै फुक्दोछ। जनाताको शासन चल्न सुरु भएको छ भनीकन रेडियोले दिनदिनै भन्दो छ। जनताका सामु राजाले पन घुँडा टेकिसक्या छन् रे। हामीलाई निमुखा सम्झीकन अझैपनि यसरी अत्याचार गर्न तमीहरुलाई चाहीँ लाजलाग्दो नई ? थुक्कपाजीहरु।’
कथा ०४७ सम्मको हो भनेर लेखकले विभिन्न ठाउँमा भनिराख्दा राजाले घुँडा टेक्सिक्या छन् भन्दा कतै पाठकहरु अन्यौलमा पर्ने हुन् कि भन्ने सानो द्विविधा पर्न सक्छ कि ? जब दिवाकरको डायरी पढेर पाठक सामली प्लस दिवाकरको प्रेम प्रसङ्ग खोज्छ। त्यो उपन्यासको पन्ना घट्दै जान्छ पाठक चिन्तामा पर्छ कि भन्ने अर्को किसिमको डर पनि साथमा छ। यो विशुद्ध पाठक र लेखकबीचको कुरा मात्र हो। यि दुईको प्रेमकथा पनि धित मर्नेगरी नपाइएको जस्ता हल्का अनुभूत हुन्छ। साँच्चै अन्त्यमा, मैले किताब पढिसकेपछि आफूलाई मनमा लागेको कुरामात्र लेख्न खोजेको हुँ। मसंग पुस्तकमाथि टिप्पणी गर्न सक्ने हैसियत छैन। फेरी भन्छु, नथिया पढ्नु। सामली बुझ्नु।