पोखराको खेलकुद बिकासमा तल्लिन एक यस्तो युवा

केशब पाठक, पोखरा न्युज  ।

दुब्लो पातलो शरिर । चिन्तन संधै खेलकुदको, साथी भाइ भेट्दा होस वा चियाको सुर्की लिइरहँदा । उमेरले ३० पनि ननाघेका  युवा हुन पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल । बिहान ६ बजे उठे देखि साँझ अवेर सम्म उनको दैनिकी खेलकुदका गतिवीधी मै वित्छ । मानौ उनको रगतमा खेलकुदको भूत नै चढेको छ ।

स्कूल पढ्दा खेरी ढिकुर पोखरी बाट बसको छतमा चढेर आहा रारा फुटबल हेर्न आएको उनलाई अहिले पनि उत्तिकै ताजा छ । उनलाई कहिल्यै खेलकुदको नेतृत्व गर्छु भन्ने सोच नै थिएन । तर काठमाडौ पुगे पछि साथी भाई संगको संगतले खेलकुद उनको अभिन्न अंग बन्न पुग्यो । अझ त्यस माथी पनि जब राष्ट्रिय खेलकुद परिषदले उनलाई पश्चिमाञ्चलको जिम्मा लगायो ।

नेतृत्वको पत्र बोकेर पोखरा आउँदा सम्म उनलाई खेलकुदको पूर्वाधार बिकासका बारेमा खासै चासो थिएन । अब के गर्ने होला भन्ने सोच संधै पलायो । धेरै संग सल्लाह सुझाब मागे । खेलकुदको बिकास कहाँ बाट सम्भव छ भन्ने बुझे । अनि त भौतिक पूर्वाधार नभइ खेलकुदको अवस्था यस्तै नै हुने रहेछ भन्ने बुझे । त्यस देखि यता उनको एक मात्र रट छ खेलकुदमा बिकास पूर्वाधार निर्माण ।

 “मेरो कुरा सबै प्रष्ट छ पहिलो प्राथमिकता पूर्वाधार निर्माण दोश्रो स्तरिय प्रतियोगिता, प्रतियोगिता बाट सफल खेलाडीलाई स्तरिय प्रशिक्षण अनि बल्ल पदक।” उनी धक नमानी भन्छन, ” यहाँ खेलाडीले पदक नल्याए धारे हात लगाउने चलन छ तर खेलाडीलाई सुविधा छैन, खेल्ने ठाँउनै छैन, प्रशिक्षणनै छैन, जिवन जिउने आधारनै छैन अनि पदक ल्याइदिनु पर्ने ?”

पोखरामा उनी आए पछि खेलकुदका पूर्वाधार बिकासले गति लिएको छ । लामो समय देखि रोकिएका या त खेलकुदका पूर्वाधार निर्माण यति छिटो बन्ने कुरामा कल्पनै नगरिएका कामहरु धमाधम हुँदैछन । खेलकुदमा देखिएको केन्द्रिकृत मानसिकता चिर्नु फलामको च्यूरा चबाउनु सरह नै हो उनी भन्छन । मन्त्रालयको सचिब, पिउन देखि लिएर राष्ट्रिय खेलकुद परिषदका कर्मचारी सबैलाई ज्यू हजुर मात्रै होइन सबैको राम्रै खातिरदारी गर्नु पर्छ, यति नगरेसम्म भनिएको रकम पनि उत्तै विभिन्न वहानमा रोकिन्छ या त बजेट नै फ्रिज हुन्छ ।

पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, टेनिस कोर्ट, अन्तर्राष्ट्रिय आर्चरी स्थल, अन्तर्राष्ट्रिय व्याडमिन्टन कोर्ट, अन्तर्राष्ट्रिय भलिबल प्रशिक्षण केन्द्र लगाएतका कामहरु एकपछि अर्को गर्दै पोखराका लागि धमाधम ल्याए उनले  । उनको अर्को ठूलो प्रोर्जेक्टको रुपमा रंगशाला भित्र आधुनिक स्विमिङ पूलको निर्माण समेत हो । उनले यस्को निर्माण निजी क्षेत्र संगको साझेदारीमा गर्ने बताउँछन । सबै कुरा राज्य बाट मात्र सम्भब नहुन सक्छ ढिलो पनि हुन सक्छ त्यसका लागि पोखरेलीहरुको लगानी आवश्यक छ उनी भन्छन ।

उनी खेलकुदका स्वयसेवी पात्र हुन । यहाँ केही पनि नबनोस भनेर घाम ताप्ने कर्मचारी देखि लिएर केही त्यस्ता विरोधीहरुको सामना पटक पटक गर्न नपरेको होइन । तर उनी पूर्वाधार बिकासमा टस का मस छैनन । उनी कसैको कुरा सुन्न चाहदैनन पनि । हरेक खेलकुदका कार्यक्रममा निर्धक्कका साथ कुरा राख्ने र ठाँउका ठाँउमा खेलकुद विकास विरोधीलाई तह लगाउने उनको खुबीको सबैले प्रंशसा गर्छन । कसैले तँ आज भोको त छैनस ? खाना खाइसकी खाइनस ? भनेर सोध्दैनन बरु त्यो टेण्डर र काम बाट कति कमाइस ? भनेर सोध्दा आफु अच्मभ पर्ने गरेको उनी बताउँछन । कामका लागि हठी स्वाभाव र फिस्स हाँसेर जवाफ फर्काउने खुबी र हतपत कसैसंग खुलेर नवोल्ने तर एकहोरो काम प्रतिको लगनशिलताले जो कोही पनि उनी प्रती नतमस्तक नै हुन्छन ।

उनको काम त्यती बेला देखियो जब लामो समय देखि कसैले हटाउन नसकेको ड्राइभिङलाइ ठाडो निर्णय बाट हटाए । उनले वाह वाही पाउने ठाँउमा खेलकुदका केही माफिया हरु जो ड्राइभिङ बाट खान पल्केका थिए, र ड्राइभिङ वालाहरु समेत मिलेर षडयन्त्र पूर्वक अदालतमा सार्वजनिक मुद्धा समेत खेप्नु प¥यो । मुद्धा जिते तर पिडा असह्य भएको उनको भनाइ छ । राज्यको सार्वजनिक सम्पति जोगाउँद र खेलाडीका लागि नै रंगशाला हो भन्ने कुरा स्थापित गराउँदा समेत यस्तो अवस्था आएको उनको संधै गुनासो रहिरहेको छ ।

आफु अध्यक्ष पदमा बसिरहँदा पोखराका उच्च स्तरका उद्योगपतीहरु संगको भेटघाटले उनीहरुलाई खेलकुद भित्र छिराउन भूमिका खेलेका छन । उद्योगपती युवा प्रकाश केसीलाई भेटेर कसैलाई जागिर लगाउन भनेनन तर रंगशालामा स्क्वाश् खेलको पूर्वाधार निर्माणका लागि आग्रह गरे र सोही अनसुार निर्माण भइरहेको छ । उनले पोखरा रंगशाला भित्र कहिल्यै कल्पना नगरिएको स्केटिङ खेल भित्राए । अहिले विदेशीहरु स्केटिङ खेल्न रंगशाला छिर्दा उनीमा खुसीको अनुभुती भएको सुनाउँछन । पोखरा रंगशाला भित्र पोखरा महानगर संगको सहकार्यमा बाटो पिच गरेर केही सहज भएको उनी सुनाउँछन । कसैले त्यसबारे सोचेको नै थिएन । महानगरले बाटो पिच गरेर केही राहतको अनुभव भएको उनको भनाइ छ ।

मनाङ जिल्लाको तिमालमा १ करो २५ लाखको लागतमा निर्माण सम्पन्न हाइ अल्टिच्युट टे«निङ सेन्टर उनको कार्यकालको अर्को उदाहरणिय काम हो । उनले यस्का लागि परिषद बाट २५ लाख र मनाङ जिविस बाट १ करोड निकासा गर्न सफल रहे । त्यती मात्र होइन आफ्नै गाँउ ढिकुरपोखरीमा स्तरिय खेल मैदन निर्माणमा उनी जुटेका छन । पैसा काहाँ बाट ल्याउने काम रोकिन्छ भन्ने त्रास कत्ति पनि उनको मनमा छैन र हुँदैन । जुटी हाल्छ, भइ हाल्छ, काम गरौ भन्ने उनको यो मन्त्रले ठूलै खेल मैदान बन्न थालेको छ । काम सुरु गरिसकेपछि कहिँ कतै बाट जुटाउँला उनी ढुक्क छन र सबैलाई ढुक्क पार्छन ।

खेलकुदका पर्यायी बनेका खगराजले आफ्नो छोटो कार्यकालमा देखाएको खुबीले पक्कै पनि सबैको मन छुन्छ । अबको बाकी दुइ बर्षमा थालेका पूर्वाधार निर्माण सम्पन्न गरेर पोखरालाई खेलकुदलाई अन्तर्राष्ट्रिय खेलकुद शहरको रुपमा विश्व माझ चिनाउने सपना उनको छ । खेलकुदको माध्यमबाट पोखरालाई अन्तर्राष्टिय खेलकुद शहरको रुपमा बिकास गर्न सके पोखरा मात्र नभइ प्रदेश ४ समृद्ध प्रदेशको रुपमा बिकास हुने र यसले छिट्टै बिकासको गति लिने कुरामा उनी विश्वस्त छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button