नागरिकता नपाउँदा अनेक समस्या झेल्दैछिन् तनहुँकी लक्ष्मी

पोखरा न्युज – २६ चैत्र ।

नागरिकता बन्न नसक्दा ३० वर्षिया लक्ष्मी घर्तीमगरले अनेक समस्या झेल्नुपरेको छ । नागरिकता बनाउन सात वर्षदेखि प्रयास गर्दा पनि नबनेपछि छोरालाई विद्यालयमा भर्ना गराउनेदेखि बैँकमा खाता खोल्नलगायतका कठिनाइ झेल्नु परेको छ ।

श्रीमान विदेश भएकाले छोरालाई विद्यालय सार्नुपर्दा नागरिकता, जन्मदर्ता चाहिने भएकाले लक्ष्मीलाई चिन्ताले सताएको छ ।
कक्षा ४ मा पढ्ने छोराले परीक्षा दिएका छन् । लक्ष्मीका जेठा छोरा सुनीललाई पहिले पनि भर्ना गर्दा निकै कष्ट गर्नुपरेको उनको अनुभव ताजै छ ।

वातावरण पत्रकार समूहले हरियो वन कार्यक्रमले महिलामा ल्याएको परिवर्तनका रिर्पोटिङ गर्ने सन्दर्भमा लक्ष्मीको घर तनहुँको जुमडाँडास्थित सुकुम्बासी वस्ती पुग्दा उनले आफ्नो पीडा सुनाएका हुन् ।

“नागरिकता बनाउँन जाँदा पहिले घर्तीमगर होइन भनेर दिएनन्, जन्मदर्ता पनि चाहिंदोरैछ, पहिले त्यो बनाउन पनि गाह्रो भयो, पछि बन्दीपुरबाट जन्मदर्ता बनाएँ, बुवाआमाले ऊ बेला जन्मदर्ता गराइदिनुभएको थिएन, बल्लबल्ल बनाए,” उनले भनिन ।

तीन छोराकीमा आमा लक्ष्मीका श्रीमान् एक वर्षदेखि कतारमा छन् । श्रीमान विदेश जानुअघि पनि नागरिकता बनाउने कोशिस जारी राखेको लक्ष्मीको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाको जुमडाँडामा बस्ने लक्ष्मीले नागरिकता नहुँदा बैँकमा खाता खोल्न नपाएकाले छिमेकमा रहेका मामा ससुराको नाममा श्रीमानले विदेशबाट रकम पठाउने गरेको बताए ।

उनकी सासु रत्नकुमारी घर्तीमगरले आफूहरू घर्तीमगर नै भएको बताइन्। उनले आफ्ना बुढा ससुराभन्दा अघिका पुस्ताले जागिरका लागि भूजेल थरमा नागरिकता बनाएका र पछि आफ्ना छोराले घर्तीमगर भनेर सच्चाएको बताइन् ।

उनले भनिन“ तैपनि अनुहार हेरेर अनि तँ यो जात होइनस नागरिकता पाइन्न भन्न मिल्छ र नानी ? छोराको नागरिकता भएपछि बुहारीलाई दिने के समस्या हुन्छ हाम्रैले बुझाउन जानेन् कि उनीहरू गलत छन् क्यै बुझिन ।”

आफू घर्तीमगर नै भएको प्रमाणसहित लक्ष्मीले आफ्ना माइतका बुवाआमाको नागरिकता पनि लगेर देखाएको रत्नकुमारीले बताइन्।

गाउँमै ज्यामी काम गर्ने लक्ष्मीका श्रीमान घरव्यवहार चलाउन समस्या भएपछि एक वर्षअघि कतार गएपछि उनका १०, छ वर्ष र सात महिनाका छोरासँगै अन्य परिवार हेर्ने जिम्मेवारी उनलाई नै छ ।

गाउँपालिका बनेपछि सबै काम यतैबाट हुन्छ भन्ने सुनेकी भन्दै लक्ष्मीले अर्कोवर्ष कतारबाट श्रीमान फर्किएपछि उनले नागरिकताका लागि फेरि प्रयास गर्ने बताइन् ।

बुढी सासु र बालबच्चाको हेरचाह गर्नेदेखि घरव्यवहार चलाउनु पर्ने उनलाई घरमा सुधारिएको चुलो राखेपछि भान्छाको काममा धेरै सजिलो भएको छ ।

“यो चुलो पनि जुमडभाँडा झप्रि सामुदायिक वनले बनाइदिएको हो, यसको लागि नागरिकता नचाहिने भएकाले सजिलो भयो” लक्ष्मीले भनिन।

नागरिकता चाहिने काम केही गर्न नपाएकी लक्ष्मीले सुधारिएको चुलोले थोरै दाउरामा छिटो खाना पकाउन सजिलो भएको बताइन् ।

“धूवाँ कम आउने, सफा हुने, दाउराको खपत कम हुने भएकाले मलाई टाउको दुख्ने, सास फेर्न गाह्रो हुन छोडेको छ, बच्चाहरूलाई पनि धुवाँबाट जोगाउन सकिएको छ, उनले भनिन ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button