प्रेस स्वतन्त्रताको पक्षमा छु – प्रचण्ड

पोखरा न्युज ,  बैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नव निर्वाचित पदाधिकारीको आज (आइतबार) पोखरामा आयोजना भएको पदस्थापन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिं कमजोरी भएपनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रह ढंगले नहेरेको प्रष्ट्याउदै आफु सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन। सत्ता पक्ष र राजनीतिक दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेको उनको जोड थियो ।

उनले भने,‘म प्रेस स्वतन्त्रताको पक्षमा पहिल्यैदेखी स्पष्ट छु, शान्ति वा युद्ध प्रक्रियामा कहिंलेकाहिं कमजोरी नभएका हैनन्, तर म प्रेस स्वतन्त्रताको पक्षमा तपाईंहरुसँगै छु ।’ प्रधानमन्त्री हुँदा लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाएको, आफ्नै पालामा पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने ब्यबस्था गरेको उनले दाबी गरे । अध्यक्ष प्रचण्डले विकाश, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष अहिलेपनि मिलेर जानुको विकल्प नभएको बताए । कास्कीको ढिकुरपोखरी आफू जन्मेको ठाउँ भएकाले कास्की र यहाँका ठाउँहरु तथा ४ नम्बर प्रदेशसँग मेरो आत्मियता रहेको बताउँदै अब यहाँ जोडिनका लागि आफूले प्रयास गरिरहेको जनाए ।

कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, वन तथा वातावरण मन्त्री विकाश लम्शालले एमाले र माओवादी बिच एकताको विकल्प नभएको बताउँदै अब फुट्ने छुट कसैलाई नभएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नागरिक हितका लागि सबैलाई मिलेर अघि बढ्न आग्रह गरे । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले राष्ट्रिय आम सञ्चार नीति पुनरावलोकन गर्न आवश्यक रहेको बताए । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण नभएको बताए । पत्रकार महासंघ प्रदेश नम्बर ४ का नवनिर्वाचित अध्यक्ष त्रिभूवन पौडेलले आफ्नो २ वर्षे कार्यकालमा पत्रकार महासंघ प्रादेशिक संरचनाको जग बलियो बनाउने दाबी गरे ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संघीय संरचनालाई प्रभावकारी बनाए मात्र संघीयता दिगो बन्ने बताए । निर्वाचन कमिटिका मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button