पोखरा न्युज -३०, वैशाख ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भीषण वर्षापछिको बाढीले दुई घर पुरिएको छ ।
दिउँसो करीब ४ः३० बजे वर्षासँगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्णरुपमा पुरिएको घटनास्थलमा रहेका वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार, भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगैको बाढी बस्तीतर्फ पसेपछि अन्य दुई घरमा क्षति पुर्याएको छ ।
स्थानीय रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत बाढी पसेर क्षति पुर्याएको छ । पौडेलको स्टेशनरी र किराना पसलमासमेत बाढीले क्षति पुर्याएको छ ।
त्यस्तै, टेकस इनलगायतका केही होटल र घरमासमेत बाढी पसेको उनले जानकारी दिए । बाढीबाट त्यहाँ रहेका एक दर्जनभन्दा बढी घर प्रभावित भएका छन् ।
अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित भएका घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् ।
त्यसैगरी, बाढीका कारण बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने बेगखोलामा बाढी आएपछि अहिले सवारी साधन वारपार हुन सकिरहेका छैनन् ।
(प्रतीकात्मक तस्वीर)