तमोटको संयोजकत्वमा राष्ट्रिय गीत छनोट समिति गठन

पोखरा न्यूज -१४, जेठ ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता–२०७५’का लागि तीन सदस्यीय छनोट समिति गठन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाको अध्यक्षतामा आज बसेको बैठकले गीतकार श्याम तमोटका संयोजकत्वमा सङ्गीतकार शक्तिबल्लभ र गायिका लोचन भट्टराई सदस्य रहेको समिति गठन गरेको हो । ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ भावमा आयोजित प्रतियोगिताका लागि यही जेठ १५ गतेसम्म गीत बुझाउने समय दिइएको छ । प्राप्त गीतहरुबाट उत्कृष्ट १० गीतलाई नगद र प्रमाणपत्र दिई सङ्गीतबद्ध गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए । ती गीत जननेता मदन भण्डारीको ६६औँ वार्षिकोत्सवका अवसरमा आगामी असारमा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिष्ठानले मदन भण्डारी राष्ट्रिय पुरस्कार तथा मदन भण्डारी साहित्य–कला–सङ्गीत र पत्रकारिता पुरस्कार गरी पाँच जनालाई पुरस्कार पनि प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बाल चित्रकला कार्यशाला र प्रदर्शनी असारमा गरिने छ । प्रतिष्ठानले प्रसारण माध्यमहरुमा जनवादी गीतहरु प्रस्तुत गराउन, जनवादी संस्कृति निर्माण गराउन र सोही खालका पाठ्यक्रम निर्माण गराउन सञ्चार, संस्कृति र शिक्षा मन्त्रालयमा ज्ञापनपत्र दिने भएको छ । प्रतिष्ठान सचिवालयमा स्व शान्तकुमार राईका स्थानमा कलाकार नरेशसुन्दर सैजुलाई मनोनयन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button