पर्वतमा आगलागीबाट घर गोठसहित १५ लाखको क्षति

पोखरा न्युज -१६, जेठ ।

पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीस्थित शुभद्रीखर्कमा आज बिहान भएको आगलागीबाट एकै परिवारको रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीयवासी खरिलाल अधिकारीको गोठबाट सल्किएको आगोले घर र गोठ दुवै सखाप पार्नाका साथै एउटा दुहुनो भैसीसमेत मरेको छ । कुडो पकाउनका लागि बिहान सल्काएको आगो निभाउन बिर्सिदा सोही आगोले गोठ र घर जलेर नष्ट भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार अहिले अधिकारीको परिवार आफन्तकामा आश्रय लिएर बसेको छ ।

आगालागीबाट रु १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको अध्यक्ष भुसालले जानकारी दिए । आगालागीमा परी अधिकारीको रु एक लाख ५० हजार नगद, पाँच तोला सुनका गरगहनासमेत नष्ट भएका छन् । खरको छाना रहेका दुवै घरगोठमा आगो सल्किएको हो । बिहान ९ बजे लागेको आगो निभाउनका लागि स्थानीयवासीले प्रयास गरेको भए पनि सम्भव नभएको उनको भनाइ रहेको छ ।

पीडित परिवारलाई महाशिलाले तत्कालका लागि खाद्यान्न, लत्ताकपडा लगायतका सामग्रीहरु सहयोग गरेको  वडाध्यक्ष भुसालले जानकारी दिए । जीवनभर कमाएको पैसाले जोडेको पूरै सम्पत्ति आगोले खरानी बनाइदिएपछि अधिकारी परिवार चिन्तित बनेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button