बेलिब्रिज उद्घाटन

पोखरा न्यूज -१९, जेठ  ।
कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–७ स्थित लौवा खोलामा बेलिब्रिज निर्माण भएको छ ।

बेलिब्रिजको शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरे । पुल बनेसँगै वर्षायाममा पनि करिडोरको बागलुङ–गुल्मी खण्डमा यातायात नियमित हुने भएको छ । यसअघि बागलुङ खण्डमा तीन बेलिब्रिज निर्माण भई सञ्चालनमा छन् ।

बेलिब्रिजको उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले विकास निर्माणका काममा सरकार र नागरिकसँग हातेमालो गरेर अघि बढ्न नेपाली सेना सधै तयार रहेको बताए ।

रु तीन करोडको लागतमा बनेको बेलिब्रिजको निर्माण गत माघमा शुरु भई वैशाखमा सकिएको थियो । तीस मिटर लामो बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए । “खोला बढेकै कारण वर्षायाममा अब करिडोर रोकिन्न,” उनले भने, “सडक स्तरोन्नति र चौडा गर्ने काम भने बाँकी छ ।” बजेट अभावका कारण स्तरोन्नतिको काम अघि बढ्न नसकेको उनको भनाइ छ ।

करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप रु एक अर्ब बजेटको खाँचो पर्ने निर्माण कार्यदलले जनाएको छ । नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ । नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ ।

बागलुङ खण्डकै जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोला, वडा नं ७ को जैदीस्थित चौरीखोला र वडा नं ८ छिस्तीको पालुङखोलामा बनेका बेलिब्रिज गत असोजदेखि सञ्चालनमा छन् । तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात चलेका छैनन् । बीचबीचमा गरी छोटो दूरीमा चल्ने सार्वजनिक सवारीले यात्रुलाई सेवा दिइरहेका छन् । जैमिनी नगरपालिकादेखि बुटवलसम्म भने नियमित बस सञ्चालनमा आइसकेको छ ।

करिडोर खुलेपछि सो मार्ग भएर रुपन्देही, पाल्पा, गुल्मी र बागलुङका पर्यटकीय र ऐतिहासिकस्थल घुम्नेको संख्या बढ्दो छ । स्थानीय उत्पादनको बजारीकरणले आर्थिक गतिविधि बढाएको छ । सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । व्यापार, पारवहन र सामरिक दृष्टिले महत्वपूर्ण कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button