बजेट छलफल : सांसदहरु पक्ष विपक्षमा विभक्त

पोखरा न्यूज -२०, जेठ । 
सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सांसदहरुले पक्ष विपक्षमा विभक्त भई आफ्नो विचार व्यक्त गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले पक्ष विपक्षमा आफ्नो धारणा राखेका हुन्।

विशेष गरी सत्ता पक्षीय सांसदहरुले बजेटको खुलेर समर्थन गरे भने विपक्षी दलका सांसदहरुले बजेट महत्वाकांक्षी रहेको भन्दै कार्यान्वयन जटिल हुने धारणा राखे ।

सांसद बिनाकुमारी श्रेष्ठले कर्णालीमा खाद्य संकट, कर्णाली जनतालाई बैंकसम्मको पहुँच नभएको उल्लेख गर्दै कर्णालीका जनताप्रति सरकारले उपेक्षा गरेको आरोप लगाए ।

सन्तुलित र सुदृढ अर्थतन्त्रका लागि तयार गरिएको बजेटको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सांसद विमला नेपाली र शान्तिमाया पाख्रिनले आकर्षक नारा तर केन्द्रिकृत बजेट भएको भन्दै टाठाबाठालाई मात्र केन्द्रित गरेकाले गरिब जनता र दुर्गम क्षेत्रका जनतालाई बजेटले सम्बोधन गर्नुपर्ने बताए ।

सांसद सञ्जयकुमार गौतमले शक्तिशाली सरकारले ल्याएको बजेटले अपेक्षित विकास, समृद्धि र न्यायको बाटोलाई तय गर्न नसकेको टिप्पणी गरे ।

सांसद नारदमुनी रानाले बजेटले सुशासन र समृद्धिको दिशालाई अंगिकार गरेको दाबी गरे । सांसद भीमसेनदास प्रधानले संघीयताको मर्मबमोजिम बजेटले नसमेटेको बताए । उनले बजेटमा उल्लेखित आर्थिक वृद्धि महत्वकांक्षी रहेको भन्दै कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ भने ।

सांसद कृष्णभक्त पोखरेलले बजेटले जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग चाहिने खाँचो औँल्याए । सांसद मीना सुब्बाले लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनतालाई महँगीको मार परेको भन्दै यसलाई तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद विमला विश्वकर्माले प्रभावकारी व्यवस्थापन गरेर बजेट कार्यान्वयनमा जोड दिनुपर्ने, काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने भन्दै सामाजिक सुरक्षाभत्ताको विविधीकरणमा जोड दिए । सांसद खेमप्रसाद लोहनीले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ आगामी आवको बजेट आएको, वास्तविकतामा आधारित रहेको, नेपालको सबै क्षेत्रको विकास गर्ने लक्ष्य राखेको भन्दै सराहना व्यक्त गरे ।

सांसद सूर्यप्रसाद पाठकले सरकारले निर्वाचनका क्रममा व्यक्त गरेको प्रतिबद्धताका आधारमा नै सरकारले बजेट प्रस्तुत गरेको भन्दै प्रतिपक्षी दलले विरोध गर्नुको कुनै तुक नभएको बताए । सांसद केदार सिग्देलले बजेटको गहिराइमा नपुगी हचुवाका भरमा विपक्षीले टिप्पणी गरेको भन्दै यथार्थतालाई नबुझीकन गलत तवरले टिप्पणी गर्ने र विरोधका लागि विरोध गर्ने प्रवृत्ति शतप्रतिशत गलत भएको बताए ।

सांसद रेखा कुमारी र कृष्ण राईले बजेटको व्यावहारिक एवं प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button