बेनी–जोमसोम सडकको सिण्डिकेट तोडियो

पोखरा न्यूज -२१, जेठ । 
बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ ।

बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।

विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ लिलाधर अधिकारीले बताए ।

२०७१ वैशाख ८ गते तत्कालीन यातायात व्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारीसाधनलाई सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तीर्थयात्री आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात व्यवसायीको गाडी चढेर जान बाध्य थिए ।

यस्तो व्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डिकेटधारी स्थानीय यातायात व्यवसायीलाई सहयोग पुगेको थियो । नयाँ निर्णयअनुसार २७ फिटसम्म लम्बाइ भएका (दुई सापटे) ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न सकिने जनाइएको छ । यो सडकमा हाल जलविद्युत् र सडक आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भइरहेका छन् ।

भुरुङ तातोपानीका अधिकांश योजना सम्पन्न

अन्नपूर्ण गाउँपालिकामार्फत वडा नं २ भुरुङ तातोपानीमा चालू आर्थिक वर्ष २०७४/७५ मा बजेट विनियोजन भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न भएका छन् ।

गाउँपालिकाको रु ५० लाख अनुदानमा वडा कार्यालयले छनोट गरेर सञ्चालन भएका १४ वटामध्ये १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका छन् । जनप्रतिनिधिको समन्वय, अनुगमन र समुदाय तथा उपभोक्ता समितिको सक्रियताका कारण आव सकिनुभन्दा डेढ महिनाअघिनै योजना तथा कार्यक्रम कार्यान्वयन सकिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

सबैभन्दा धेरै रु १३ लाख बजेट विनियोजन भएको तातोपानी–मान्द्रेढुंगा सडक आयोजनाबाहेक अन्य योजना सम्पन्न भइसकेका छन् । सडक स्तरोन्नतिको काम भइरहेको यो योजनासमेत अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर गोतामेले बताए । चार ठाउँमा १०० मिटरभन्दा बढी आरसिसी ढलान, सोलिङ र ग्याबियन लगाउने काम भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button