सिण्डिकेटले लोकतन्त्र खतरामा : मुख्यमन्त्री

पोखरा न्यूज -२१, जेठ । 
प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा व्याप्त सिण्डिकेटले लोकतन्त्र खतरामा परेको बताएका छन् ।

स्वतन्त्र पत्रकार संघको ज्ञापनपत्र बुझ्दै प्रदेशप्रति जनताको अपेक्षा बढ्दै गएको तर केन्द्रीय सरकारको केन्द्रीकृत सोचले काम गर्न अप्ठेरो भएको बताए । मुख्यमन्त्री गुरुङले संघद्वारा पेश गरिएको मागपत्रलाई आफूले अध्ययन गरी सक्दो सहयोग सहित पत्रकारिताको विकासमा सहयोग गर्ने बताए ।

संघको जेठ १९ गते पाल्पामा सम्पन्न केन्द्रीय साधारणसभाद्वारा पारित ९ बुँदे घोषणापत्र मार्फत आम पत्रकारको क्षमता अभिवृद्धि, समानुपातिक विज्ञापन नीतिलाई प्रदेश मार्फत गर्नुपर्ने, सिण्डिकेट विरुद्ध सरकारले थालेको अभियानको स्वागत गर्दै संचार जगतमा देखिएको सिण्डिकेट हटाउनुपर्ने, लोककल्याणकारी विज्ञापन नीतिलाई शतप्रतिशत बृद्धि गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने माग राखिएको संघका कास्की अध्यक्ष कृष्ण थापाले बताए ।

संघका केन्द्रीय सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पत्रकारिताको विश्वव्यापी मान्यतालाई कायम गरी राज्यपक्षबाट स्वतन्त्र पत्रकारिता विकासमा भूमिका खेल्नुपर्ने बताए । संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको नेतृत्वमा भएको सो कार्यक्रममा सरकार पक्षबाट दिंदै आएको सहयोगमा संघलाई पनि समेट्नुपर्ने बताए ।

उक्त अवसरमा बरिष्ठ उपाध्यक्ष उदय बहादुर अमात्य, महासचिव नवराज पहाडी, प्रदेश उपाध्यक्ष दिननाथ बराल, उपमहासचिव शिला गुरुङ, केन्द्रीय सदस्य गणेश बराल, कास्की अध्यक्ष कृष्ण थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

संघको सम्पन्न सातौं साधारणसभाले पहिलो चरण प्रत्येक प्रदेश मार्फत ध्यानाकर्षण गराउने, दोस्रो चरणमा केन्द्रीय सरकार समक्ष माग सहितको ध्यानाकर्षण गराउने, पत्रकारिता क्षमता अभिवृद्धि, कोष व्यवस्थापन, शाखा विस्तार सहित संघको सांगठानिक एवं आर्थिक प्रतिवेदनलाई पारित गरिएको महासचिव नवराज पहाडीले बताए ।

संघको हाल १८ जिल्लामा शाखा विस्तार रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button