पर्वत महाशिलामा आठवटा विधेयक पारित

पोखरा न्यूज -२३, जेठ ।
पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित भएका छन् ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतरूपमा विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन—२०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन—२०७५, न्यायिक समितिले उजुरीको कारबाही किनार गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक— २०७५, सहकारी ऐन—२०७५, स्थानीय शिक्षा ऐन—२०७५, पूर्वाधार व्यवस्थापन ऐन—२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक—२०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन—२०७५ सर्वसम्मतरुपमा पारित गरेको हो ।

शिक्षा विधेयकमा शिक्षकको दरबन्दीलाई स्थानीयकरण गरी हेरफेर, आन्तरिक सरुवा बढुवा गर्ने उल्लेख छ । यसैगरी, कृषि व्यवसाय तथा प्रवद्र्धन विधेयकले गाउँपालिका क्षेत्रमा रहेका सम्भावनाको पहिचान गरी कृषिजन्य उत्पादनलाई जोड दिने व्यवस्था गरिएको छ।

संविधान अनुसार स्थानीय तहले विभिन्न २२ वटा कानून बनाउनुपर्नेछ । विधेयक पारित भएपछि गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए। यसअघि तोक आदेश र निर्देशनको आधारमा काम गर्नुपर्ने अवस्था थियो ।

यस्तै, केही विधेयक तथा संकल्प प्रस्ताव विधायन समितिमा पुनः छलफलका लागि पठाउने निर्णय भएको छ । स्थानीय सेवा ऐन—२०७५ पुनः छलफलका लागि पठाइने भएको प्रवक्ता उच्चैले जानकारी दिए ।

त्यसैगरी, गाउँसभाले गाउँपालिकाभित्र मदिरा उत्पादन तथा बिक्री–वितरण र बाँदर नियन्त्रण अभियान सञ्चालन गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ । मदिरा नियन्त्रणका लागि रु ६ लाख विनियोजन गरिएको छ । आगामी असोज मसान्तसम्म मदिरा पूर्णरुपमा नियन्त्रण गर्ने निर्णय भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button