प्रदेशको नाम गण्डकी राख्नुपर्ने माग राख्दै पोखरामा धर्ना

मार्सल लगाएर प्रदेशसभा बैठक सञ्चालन

पोखरा न्यूज- २७, जेठ । 

चार नम्बर प्रदेशको नाम गण्डकी राख्नुपर्ने माग राख्दै आइतबार खस आर्य समाज कास्कीले पोखरामा धर्ना दिएको छ । जातिय नाम आफुहरुलाई मान्य नहुने र सबैलाई मान्य हुने नाम गण्डकीनै राख्नुपर्ने  माग राख्दै उनीहरुले  प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरेका हुन् ।

उता नामकै विषयलाई लिएर  प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेपछि मार्सल लगाएर सञ्चालन गरिएको छ ।

प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेपछि दुई पटकसम्म स्थगित गरिएको बैठक तेस्रो पटक भने मार्सल लगाएर सञ्चालन गरिएको हो ।

काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेर मात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । २०७४ चैत १२ गते गठित नामाकङ्न तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो ।

काँग्रेसका सभासदहरुले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि अपराह्न ४ः५५ बजे मात्रै शुरु भएको थियो । पहिलो बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न समय दिएका थिए  ।

नेपालीले प्रदेशसभामा पहिले टेबुल भएका विधेयक सम्बन्धमा छलफल नगरी अन्य विषयमा छलफल शुरु गरिएकामा विरोध गर्दै प्रदेशसभामा टेबुल भइसकेको नामाङ्कनको विषय छलफलमा नल्याएसम्म सदन चल्न नदिने बताए ।

त्यसपश्चात सभामुखले संसदको कारबाही बढाउन लागेपनि रोस्टम अघि गएका काँग्रेसका सदस्यले नारा लगाएपछि आधा घन्टाका लागि भन्दै बैठक स्थगित भएको थियो । साँझ पुनः ७ः३० बजे अर्को बैठक शुरु गरिएसँगै प्रतिपक्षी काँग्रेसका सदस्यले बैठक अवरुद्ध गरपछि पुनः दोस्रो पटक बैठक आधा घण्टाका लागि स्थगित भयो ।

त्यसपछि तेस्रो पटक शुरु बैठकमा प्रतिपक्षीको नाराबाजी र अवरोधका बाबजुत मार्सल लगाएर बैठक गरिएको हो ।

आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल शुरु भएको थियो ।

नेपाली काँग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले प्रदेशको नामाङ्कन तथा राजधानी सम्बन्धमा यही जेठ २१ गते  बैठकमा टेबुल भएको विषयलाई छलफलमा नल्याई अन्य विषयलाई छलफलमा ल्याइएकाले आफूहरू बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।

सत्तापक्ष एवं सभामुखले जबरजस्ती रुपमा प्रतिपक्ष उठिसकेपछि मार्सल लगाएर बैठक सञ्चालन गर्नु संसदीय मान्यताको विपरीत भएको बताउँदै उनले सत्तापक्षको यो प्रयास भत्र्सनायोग्य भएको टिप्पणी गरे।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button