प्रधानमन्त्री कपको उपाधि एपिएफलाई

पोखरा न्युज -२८, जेठ ।
विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा  एपिएफले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यता समूह चरणको खेलमा भने एपिएफ आर्मीसँग पराजित भएको थियो । उपाधिसहित एपिएफले रु २० लाख प्राप्त ग¥यो ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले रु १० लाख पायो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल बनायो । आर्मीका लागि भीम सार्कीले ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ तथा राजेश पुलामी मगरले २७ रन जोडे ।

बलिङतर्फ एपिएफका करण केसीले एक्लैले ३ तथा वसन्त रेग्मी र भुवन कार्कीले २/२ विकेट लिए । दुई सय १० रनको लक्ष्य पछ्याएको एपिएफको जीतमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । शाह र ऐरीले ६३/६३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १४, पृथु बाँस्कोटाले ३२, रोहितकुमार पौडेलले १५ तथा करण केसीले पनि समान १५ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका सोमपालले तीन विकेट लिए भने विक्रम सोबले एक विकेट झारे । एपिएफका अनिल फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आर्मीका सागर पुन घोषित भए । उनले रु एक लाख प्राप्त गरे । यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान एपिएफका प्रदीप घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर आर्मीका सुसन भारी चुनिए । प्रदीप र सुसनले जनही रु ५० हजार हात पारे ।

प्रतियोगिताको इमर्जिङ प्लेअर प्रदेश ४ का हरिबहादुर चौहान चुनिए । उनले पनि रु ५० हजार पाए । विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button