पर्सामा ठगी गर्ने चार युवक पक्राउ

पोखरा न्युज -२९, जेठ ।
चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएम आइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो ।

वीरगञ्ज महानगरपालिका– १८ नगवाका अक्षयकुमार चौरसिया, वडा नं १६ का युवराज पासवान, वडा नं १९ का वीरनारायण चौरसिया र वडा नं २ छपकैयाका राहुलकुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

वीरगञ्जका एक व्यक्तिलाई २५ लाख भारतीय रुपैँयाको चिठ्ठा परेको भन्दै करबापत रु एक लाख माग गरी रकम झिक्ने क्रममा चारैजनालाई वीरगञ्जको भेडियाहीबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवाबाट प्रहरीले रु एक लाख पाँच हजार, ठगीमा प्रयोग भएका चार थान मोबाइल, आइएम आइको सातवटा भौचर, विभिन्न बैंकका एटिएम कार्डलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी संगठित ठगी मुद्दा चलाउने तयारी भइरहेको उपरीक्षक ढकालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button