म्याग्दीको दुर्दीमा ‘एक घर एक धारा’ : स्थानीय दङ्ग

पोखरा न्युज -०१, असार  ।
म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा, दुर्दीमा रु ८५ लाख २६ हजारको लागतमा भित्रिबन खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि ‘एक घर एक धारा’ अभियानले पूर्णता पाएको छ ।

आयोजना सम्पन्न भई घरघरमा बनेका धाराबाट पानी खसेपछि स्थानीय बासिन्दा दंग परेका छन् । यसअघि गाग्री र भाँडा बोकेर पानीका लागि कुवा र पोखरीमा धाउन बाध्य स्थानीयवासी अब घरको आँगनमै बनेको धाराबाट पानी झरेपछि आफ्नो वर्षौंदेखिको समस्या समाधान भएकोमा उत्साहित छन् ।

गाउँपालिकाद्वारा सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनामार्फत रु ६६ लाख २६ हजार ८४६ र रु १९ लाख बराबरको जनश्रमदान गरी रु ८५ लाख २६ हजार ८४६ को लगानीमा आयोजना सम्पन्न भएको हो ।

आयोजनाबाट ६८ घर, सामुदायिक भवन, मन्दिर र विद्यालय गरी ७१ वटा धारा निर्माण गरी पानी सञ्चालन गरिएको भित्रिबन खानेपानी उपभोक्ता समितिका सचिव भक्तबहादुर रोकाले बताए ।

आयोजना अन्तर्गत आठ घन मिटरको एक, छ घन मिटरको दुई र तीन घनमिटरको दुई गरी पाँचवटा रिजर्भ ट्यांकीमार्फत पानी वितरण गरिएको छ । रिजर्भ ट्यांकीदेखि तीन किलोमिटर दूरीमा रहेको बोफुवा जलजलाको जंगलको मूलबाट पानी ल्याई ६० हजार लिटर क्षमताको पानी ट्यांकीमा संकलन गरी वितरण गरिन्छ ।

आयोजना सम्पन्न भई प्रत्येक घरमा धारा बनेपछि वर्षौंदेखिको खानेपानी समस्या समाधान भएकोमा उपभोक्ता खुशी भएका उपभोक्ता समितिका उपाध्यक्ष खरबहादुर रोकाले बताए ।

त्यसैगरी, स्थानीय शिक्षक एवं उपभोक्ता रामबहादुर थापाले आयोजना सम्पन्न गर्नु मात्रै ठूलो कुरा नभएर यसको दिगोपना र मर्मत सम्हारका लागि मर्मत सम्हार समिति बनाई कोषको व्यवस्थापन गर्नसके राम्रो हुने बताए । २०७४ चैतदेखि शुरु भएको यो आयोजनाका सबै धारामा पानी सञ्चालन कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताए ।

उपभोक्ता समितिको क्रियाशीलता र सक्रियतामा यति छिट्टै आयोजना सम्पन्न भएको स्थानीयले बताएका छन् । भौगोलिक रुपले विकट र छरिएर रहेको बस्तीका कारण आयोजना खर्चिलो देखिए पनि करीब १० महिनाको अवधिमा यो आयोजना सम्पन्न भएपछि दुर्दी गाउँको मुहार नै फेरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button