ओलम्पिक दिवश मनाउन पोखरामा महिला भलिबल

पोखरा न्यूज -२, असार ।
नेपाल भलिबल संघले ‘ओलम्पिक डे’ मनाउन पोखरामा नेपालका दुई बिशिष्ट क्लब शिवम न्यू डायमण्ड र सशस्त्र प्रहरीको एपिएफ बिच मैत्रीपूर्ण महिला भलिबल खेलको आयोजना गरेको छ । हालै सम्पन्न राष्ट्रिय वाणिज्य बैंक महिला लिगका बिजेता र उपबिजेताका बिच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

दुई दिन देखि पोखरामा लगातार भइरहेको वर्षाका कारण प्रतिकुल मौसमका बीच खेल सुरु गरिएको थियो । खेल भइरहँदा समेत वर्षाले खेल अवरुद्ध पारेको थियो । राष्ट्रिय महिला खेलाडीले भरिएका दुबै टिमको खेल हेर्न उपस्थित दर्शकलाई वर्षाले निराश बनाए पनि दुबै टिमको खेल भने उत्तिकै उत्तेजक र रोमाञ्चक रह्यो ।

सम्पन्न मैत्रीपूर्ण खेलमा एपिएफले ३–२ सेटमा हराउँदै मैत्रीपूर्ण खेल आफ्नो पक्षमा पारेको छ ।

सम्पन्न खेलमा न्यू डायमण्डले एपिएफमाथि दबाब राख्दै पहिलो सेट २५–१७ र दोश्रो सेट २५–२० स्कोरले जिते पनि एपिएफ खेलमा फर्किदै तेश्रो सेट २५–२० र चौथो सेट २५–१६ को स्कोरले आफ्नो पक्षमा पार्न सफल रहेको थियो।

पाँचौ तथा अन्तिम सेटमा संघर्षपूर्ण खेलमा एपिएफले १५–१३ को स्कोरले न्यू डायमण्डलाई पाखा लगाउँदै आफू उत्कृष्ट नै रहेको प्रमाणित पनि गरेको छ ।

खेललाई पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिशीले उद्घाटन गरेका थिए । सो अबसरमा मेयर जिशीेले नेपाल भलिबल संघले पोखरामा ओलम्पिक डे मनाउन महिला भलिबल खेलको आयोजना गरेर पोखराको शान बढाउन सहयोग पुर्याएको बताए ।

नेपाल भलिबल संघका उपाध्यक्ष एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिब जितेन्द्र बहादुर चन्द, सचिब डिबी नेपाली लगायतले ओलम्पिक डेको महत्व र सन्दर्भका बारेमा बोलेका थिए । सो अबसरमा भलिबलको गितमा सोसियल पव्लिकका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

हरेक वर्ष जुन २३ लाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले आधुनिक खेलको सुरुवात भएको मान्दै त्यसको सम्मानमा ओलम्पिक डे मनाउने प्रचलन रहि आएको छ । नेपालमा नेपाल ओलम्पिक कमिटीले एक साता सम्म विभिन्न खेलहरुका आयोजना गरि यो दिवश मनाउने कार्यक्रम रहेको छ । नेपालमा शनिबार बाट औपचारिक रुपमा कार्यक्रम सुरु भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button