धौलागिरिको फेदमा होटल व्यवसाय

पोखरा न्युज -०६, असार ।
वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ ।

राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आएक छन् ।

तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिएका छन्। यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् ।

“पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ,” उनले भने । उनले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मेलायेका छन्। समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ ।

उनले निर्माण गरेका पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टर मार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधन मार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् ।

होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातौं अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताए।

होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भने ।

इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउछन् । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उनले भने।

होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरेसकेका छन् । उनले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गरेका थिए । पछि छाप्रो हालेर होटल शुरु गरेका हुन् । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उनले भने ।

धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उनले सोलारमार्फत बिजुली बलेका छन् । “खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उनले भने । उनले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गरेका छन्।

पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताए । अन्तिम मानवबस्ती बगर गाउँदेखि माथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् ।

देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button