पोखरा न्यूज -१५, असार ।
पोखरामा फेवातालको सिरान भाग पामेमा यस बर्षको असारे रोपाई महोत्सव मनाइएको छ। महोत्सवमा सयौको संख्यामा आन्तरिक पर्यटक सँगै करिब १० देशका पर्यटकहरुले सहभागिता जनाएको आयोजकले बताएको छ ।
पोखराको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले पोखरा पर्यटन परिषदद्वारा आयोजना गरिएको उक्त महोत्सव बाजा गाजाको साथमा एक आपसमा हिलो खेल्दै, दहि चिउरा खादै धुमधामका साथ मनाइएको परिषदका अध्यक्ष तथा कार्यक्रम संयोजक केदारनाथ शर्माले बताए ।
१५ औं संस्करणको उक्त महोत्सवको हिलोमा सायर उद्घाटन गर्दै प्रदेश नम्बर ४ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरामा मनाईदै आएको महोत्सवलाई राष्ट्रिय स्तरकै रुपमा मनाउनुपर्नेमा जोड दिए । उनले भने “ प्रदेश नम्बर ४ मा पर्यटनबाटै आर्थिक विकास सम्भव छ, हाम्रो ध्यान पर्यटनमै केन्द्रित भएको छ, यस्ता महोत्सबलाई राष्ट्रिय स्तरकै रुपमा मनाउनु पर्छ । ” सन २०२१ म पोखरामा अन्तराष्ट्रिय विमान भित्राएसंगै २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ प्रदेश सरकार लागेको उनले प्रष्ट पारे ।
प्रदेश नम्बर ४ का सांसद राजिव पहारीले फेवाताल संरक्षणमा अब कसैले रोकेर नरोकिने दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । यसअघि आयोजकले प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङलाई प्रमुख अतिथि बनाउने पुर्व सुचना गराए पनि उद्घाटन समारोहमा मुख्य मन्त्री गुरुङ नआए पछि उद्घाटन सत्र ढिलो गरी सुरु भएको र लामो रुपमा भएको थियो । प्रदेश नम्बर ४ का सांसद बिन्दुकुमार थापा उक्त कार्यक्रमको उद्घाटन सत्रमा हतार हतार गर्दै पुगैसंगै टाई सहित हिलोमा सहभागी भए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ फेवाताल सिरान पामेस्थित अशोक पालिखे र कृष्णमोहन पराजुलीको ४ रोपनी जग्गामा महोत्सब सन्चालन गरिएकोे संयोजक शर्माले जनाए ।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई ब्यबसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्दैै परम्परागत नेपाली कृषि प्राणाली मार्फत पोखराको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सवलाई निरन्तरता दिदै आएको संयोजक शर्माले बताए ।