पोखरामा अग्निदहन चलचित्रको समूह सम्मानित

पोखरा न्यूज -१८, असार ।
यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्मान गरेका छन् ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा अध्यक्ष जीतेश प्रधानले संयुक्तरुपमा आयोजित एक समारोहका बीच चलचित्रका निर्देशक घनश्याम लामिछानेसहित कलाकारलाई सम्मान गरेका हुन् ।

सम्मानित हुने अन्य कलाकार प्रमिला तुलाचन, तुलसा जिसी, निर्मल लामिछाने र ताराबहादुर गुरुङ छन् । सम्मान कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानले अग्निदहनले पाएको सफलताले पोखरामा क्रियाशील कलाकर्मीको हौसला बढाएको बताए ।

चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडलले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्निदहन पुरस्कृत हुनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको उल्लेख गरे ।

निर्देशक घनश्याम लामिछानेले आफूहरूले प्राप्त गरेको पुरस्कार आफूहरूले मात्र नभई सिंगो पोखराले पाएको बताउँदै पुरस्कारले हौसलासँगै जिम्मेवारी थपेको धारणा राखे ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा निर्मित बोक्सी प्रथाको विषयमा बनेको यस चलचित्रको प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुन् भने निर्माताद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button