पोखराको लेकसाइडमा एकै रात ५ ठाउँमा चोरी

लेकसाइडमै चोरी गर्ने २ जना  पक्राउ, चोरी गर्ने व्यक्तिको खातामा १८ लाख

गणेश बराल, पोखरा न्यूज -२० , असार । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइड स्थित गौरीघाटमा गए राती पाँच ठाउँमा चोरी भएको छ । ट्याटु हाउस, स्पा, सलोन र कोल्ड स्टोर गरी पाँच ठाउँमा चोरी भएको स्थानीयले बताएका छन् । चोरले गौरीघाटमा रहेको ब्ल्याक इन्क ट्याटु एण्ड सलोन, एस एण्ड एस कोल्ड स्टोर, बिन्दवासिनी हेयर कटिङ, भिजन थेराप्युटिक स्पा तथा हेन्डसम सलुनको सटरको ताला फोरेर चोरी गरेको ब्यबसाय संचालकहरुले  जानकारी दिए ।

नगद १० हजार, ट्याटु खोप्न प्रयोग गर्ने मेसिन र कलर गरि २ लाख भन्दा बढीको चोरी भएको ब्ल्याक इन्क ट्याटुका संचालक मिलन रोक्काले पोखरा न्युजलाई बताए । एस एण्ड एस कोल्ड स्टोरका सरोज लामिछानेले नगर ४ हजार सहित ९ वटा बियर, वाइन,भोड्का तथा ड्राइ फूड गरी १४/१५ हजारको चोरी भएको जानकारी दिए । त्यसैगरी बिन्दवासिनी हेयर कटिङबाट १८ हजार नगद चोरी भएको संचालक बिनय साहले बताए । गौरीघाटकै भिजन थेराप्युटिक स्पाबाट नगद ३ /४ सय मात्र चोरी भएको छ । काउन्टरमा पैसा नरहेका कारण ठुलो चोरी हुन बाट जोगिएको संचालक अर्जुन घिमिरेले बताए । हेन्डसम सलुनबाट २/३ हजार चोरी भएको संचालक आदित्य ठाकुरले बताएको स्थानीयले जानकारी दिए ।

पानी परेको मौका पारेर चोरी

चोरी गर्ने व्यक्तिले पानी परेको मौका छोपेर चोरी गरेका छन् । ठुलो पानी परेको समयमा सटर फोर्दा आवाज बाहिर नजाने र मानिसहरु हिडडुल समेत नगर्ने भएकाले चोरी गर्ने व्यक्तिले त्यस्तो समय हेरेर चोरी गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुह डिएसपी नबिन कार्कीले बताए । ‘पोखरामा मात्र हैन देशैभर चोरी गर्ने व्यक्तिले पानी परेको मौका छोपेर चोरी गर्ने गरेको पाइएको छ, यस्तो बेलामा सबैजना बढी सचेत हुनुपर्दछ,’- डिएसपी कार्कीले भने । मापसे गरेको र ड्रक्स प्रयोग गरेको सुरमा कुनै एक गिरोहले लेकसाइडमा मंगलबार राती चोरी गरेको हुनसक्ने डिएसपी कार्कीले बताए । ठुलो रकमको चोरी नभएपनि एकैपटक यसरी एकैपटक पाँच पाँच ठाउँमा चोरी हुनुलाई गम्भीर रुपमा लिएको डिएसपी कार्कीले उल्लेख गरे । आफुहरुले शंकास्पद २ जनालाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान जारी राखेको डिएसपी कार्कीले बताए ।

लेकसाइडमा फरक चोरीमा संग्लग्न २ जना पक्राउ

यसैबिच लेकसाइडलाई फोकस गरेर पोखरा लेखनाथ महानगरपालिका बिभिन्न स्थानहरुमा चोरी गर्दै आएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाग्लुङ ढोरपाटन -९ स्थाई घर भई हाल पोखरा -७ मासबार बस्ने ४१ बर्षिय जिवन भनिने डोर बहादुर बुढा र धादिङको सेरतुङ घर भई पोखरा -३१ डेरा गरी बस्ने ४२ बर्षिय प्रेम तामाङलाई मंगलबार पक्राउ गरेको डिएसपी कार्कीले जानकारी दिए ।

चोरीका घटनाको सिटिटिभि फुटेज तथा मोबाईल तथा ल्यापट बनाउने पसल संचालक संग समन्यव गरी अनुसन्धान पश्चात उनीहरुलाई पक्राउ गरिएको कार्कीले बताए । सिटिटिभि फुटेजबाट लेकसाइडका ५ वटा होटलमा उनिहरुले चोरी गरेको पुष्टी भएको र थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । पक्राउ पर्नेहरुको साथबाट ठुलो मात्रामा, मोबाइल, ट्याब, ल्यापटप, क्यामेरा, कम्पुटर उपकरणहरु, सुनको औठी, टप, लकेट, झोला, १ लाख बढी नगद , बैंक भौचर तथा चोरी गर्न प्रयोग गरिने सामाग्रीहरु नियन्त्रणमा लिइएको डिएसपी कार्कीले जानकारी दिए ।

चोरी गर्ने व्यक्तिको खातामा १८ लाख

यसैबीच चोरी कार्यमा संलग्न डोर बहादुर बुढाको बैंक खातामा नगद रु १८ लाख जम्मा गरेको भेटिएको छ । बुढाको साथमा भेटिएको कृषि बिकास बैंकको बैंक जम्मा भौचरको आधारमा अनुसन्धान गर्दा १५/२० दिनको फरकमा एक डेढलाख गरि १८ लाख जम्मा गरेको पाइएको डिएसपी कार्कीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button