बढी भार र तीव्र गतिले दुर्घटना

पोखरा न्यूज -२४, असार ।
बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ जना घाइते छन् । “टिपरले ३२ जना मजदूरसहित बालुवा पनि बोकेको पाइएको छ”, प्रनाउ खड्काले भने, “ओभरलोड र तीव्र गतिले दुर्घटनाग्रस्त भएको प्राररम्भिक अनुसन्धानले देखाएको छ ।”

टिपर चालक धादिङका २३ वर्षीय सुजन घलानको दुर्घटनास्थलमै मृत्यु भएको थियो । एकातिर कच्ची सडक र अर्कातिर कम उमेरका चालकमा हुने अनुभवको कमीले पनि दुर्घटना निम्तिएको हुन सक्ने बताइएको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा पर्ने बेनी–कोरला सडक खण्डको निर्माणमा खटिएका रोल्पा, दाङ, कैलालीलगायत जिल्लाका मजदूरले दुर्घटनामा ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी रोल्पाका नौ मजदूरको उक्त दुर्घटनामा ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश २० देखि ३० वर्षभित्रका छन् । सडक निर्माणको जिम्मा लिएको बिरुवा कन्सट्रक्सन मार्फत मजदूर कामका लागि मुस्ताङ पुगेका थिए । जाडो याम सकिएपछि मजदूरहरु गत फागुनपछि मुस्ताङ पुगेको जनाइएको छ । दुर्घटनामा घाइते १२ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सबैको शव नेपाली सेनाको हेलिकप्टरमार्फत शनिबार पोखरा पु¥याई परिवारलाई जिम्मा लगाइएको छ । रोल्पा र दाङका शव सेनाको हेलिकप्टरबाटै लगिएको थियो ।

बा २ क २२१९ नं को टिपर अपराह्न सडकदेखि झण्डै ४० मिटर तल खसी दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाका घाइतेलाई नेपाली सेना र निजी कम्पनीको हेलिकप्टरबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किमीको दूरीमा भएको हुँदा तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पु¥याउन कठिनाइ उत्पन्न भएको थियो । पाँच गम्भीर घाइतेको उपचारका लागि पोखरा पठाउने तयारी हुँदाहुँदै दुर्घटनास्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button