गण्डकी प्रदेशको तीन विधेयक पारित

पोखरा न्यूज -२४, असार ।
गण्डकी प्रदेशको आज बसेको प्रदेशसभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।

आजको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेका ‘प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रस्तुत गरेका ‘स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत रुपमा पारित गरेको हो ।

त्यस्तै बैठकले सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रस्तुत गरेका ‘खोप सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पारित भएको छ । बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले मुस्ताङमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मुस्ताङको टिपर दुर्घटनाका मृतकका परिवारलाई तत्कालीन राहत एवं घाइतेको प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गरे ।

प्रदेशसभा सदस्य एवं नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले फेवातालको अतिक्रमण रोक्न बनाइएको समितिमा अतिक्रमण गर्ने व्यक्तिलाई राख्दा त्यसको प्रभावकारिता नरहने भन्दै त्यसमा ध्यानाकर्षण गरे ।

प्रदेशसभा सदस्य आशा कोइरालाले तनहुँमा हालै रुखले किचेर एकै परिवारका तीन दिदीबहिनीमध्ये एकको मृत्यु र दुई गम्भीर घाइते भएको जानकारी गराउँदै पीडित परिवारलाई उचित राहत एवं उपचारको व्यवस्था गर्न माग गरे ।

विशेष समयमा प्रदेशसभा सदस्य कृष्ण बहादुर थापा, राजीव पहारी, दीपक थापा, मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, हरिशरण आचार्यले विभिन्न स्थानमा जनताले भोग्नु परेका समस्याका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी साउन ३ गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button