गोरखाका ८८ प्रतिशत भूकम्पपीडित दोस्रो किस्ता पाउन वञ्चित

पोखरा न्यूज -२५, असार । 
गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् ।

पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् । पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका हुन् ।

स्थानीय तहबाट भुक्तानीका लागि सिफारिश गर्न ढिलाइ भएका कारण पीडित लामो समयसम्म पनि दोस्रो वा तेस्रो किस्ता पाउनबाट वञ्चित बनेका छन् । रकम नपाउँदा कतिपयको निर्माणाधीन आवास नै अलपत्र परेका छन् ।

जिल्लाका सातै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए । विहादी, पैंयु र जलजला गाउँपालिकामा खटिएका निकै ढिलो गरी कार्यक्षेत्रमा पुगेका थिए । पहिलो किस्ता लगेकाहरु काम शुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्योल हुँदा मारमा परेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार भूकम्पमा परी जिल्लाका पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमवापत रु ५० हजार लगिसकेका छन् भने अझै ४९५ जना पहिलो किस्ता लिन आएका छैनन् ।

दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारिश लिनै नआएको एकाइ प्रमुख तथा जिल्ला इञ्जिनीयर जगदीश शर्माले जानकारी दिए। उनका अनुसार स्थानीय तहलाई छिटो भुक्तानी सिफारिश गरेर पठाउन ताकेता गरिएको भए पनि अझै आइसकेका छैनन् ।

घर बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाइ भएको पाइएको छ । हालसम्म पहिलो किस्तावापत रु २३ करोड ८७ लाख वितरण भइसकेको छ भने दोस्रो किस्तावापत रु आठ करोड ७६ लाख वितरण भइसकेको छ । कतिपयको नाम परिवर्तन भएको, अर्काको जग्गामा बसोबास गरेको र दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button