म्याग्दीमा पदमार्ग निर्माण

पोखरा न्यूज -३२, असार ।
म्याग्दीको सदरमुकाम बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ ।

बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो ।

पर्यटन विभागको रु २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताए । यसै वर्ष बेनी नगरपालिकाको रु चार लाख सहयोगमा थप ११८ मिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष नगरपालिकामार्फत ७५ मिटर पदमार्ग निर्माण भएको थियो । अर्थुङ्गे, पछै, जगन्नाथ, टोड्के मालिका धुरीदेखि बिम मराङ हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म जोड्ने वैकल्पिक पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताए ।

बेनीदेखि अर्थुङ्गे जोड्ने भिरालो पाखोमा अवस्थित उकालो बाटोमा पक्की सिँढी निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । यसअघि चिप्लो बाटोमा लडेर दुर्घटना हुने जोखिम थियो ।

बेनी नगरपालिकाले गौरवको आयोजनाको रुपमा आँपरुख, पुलाश्रम र पछैमा रामायण उद्यान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

डिपिआरले पूर्णता पाएपछि रामायण उद्यानको काम शुरु गर्न आगामी आवमा रु ४२ लाख बजेटसमेत विनियोजन भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button