अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन

पोखरा न्यूज -०४, साउन ।
पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो ।

यस जिल्ला पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएता पनि आन्तरिक पर्यटन प्रवद्धनका लागि घरबास (होमस्टे) आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकको अत्यधिक चाप बढेको हुँदा पर्यटकको चाप थेग्नका लागि होमस्टेले सहयोग पु¥याएको छ ।

गाउँघरका मौलिक पुराना बस्तीमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीमा होमस्टे सञ्चालनको अवधारणा ल्याइएको हो । हाल यस जिल्लामा दुईवटा गाउँमा होमस्टे सञ्चालनमा आएका छन् ।

नासों गाउँपालिकाअन्तर्गतका दुईवटा वडा, नं ४ का १५ घर र वडा नं ८ ताचै गाउँमा २६ घर सञ्चालनमा आएका छन् । वडा नं ४ ओडार गाउँ यस जिल्लाको पहिलो घरबास (होमस्टे) भएको ठाउँ हो भने वडा नं ८ ताचै गाउँमा साउन २ गतेदेखि विधिवतरुपमा सञ्चालनमा आएको छ ।

गाउँको चिनारीको वृत्तचित्र र म्युजिक भिडियोबाट गाउँलाई प्रचारप्रसारमा ल्याउने उद्देश्यका साथ होमस्टे सञ्चालनमा आएको हो । पर्यटन प्रवद्धनबाट गाउँको उन्नतिका लागि होमस्टेको अवधारणासँगै पदमार्गले नासों गाउँपालिकाका नौवटै वडा जोड्ने लक्ष्य रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बतएका छन् ।

उनका अनुसार ताल, धारापानी, खोत्रो, थोचे, तिल्चे, ताचै, हुँदै दानक्यु, बगरछाप, घ्यालनचोक, ओडार गाउँबाट धारापानी जोड्ने पदमार्गको योजना बनाई काम थालिएको छ । सरकारको अवधारणाअनुरुप पर्यटन प्रवद्धनका लागि योजना बनाई अगाडि बढेको र चामे गाउँपालिकामा पनि घरबास (होमस्टे) निर्माणका लागि योजना निर्माण गरेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

आन्तरिक तथा बाह्य पर्यटनका लागि घरबास (होमस्टे) निर्माणमा लाग्दै मनाङको परम्परा र प्राचीन घरको प्रयोग र सदुपयोगमा लागेको घरबास समिति ताचैका अध्यक्ष याद घलेले बताए । घरबास (होमस्टे)ले मनाङको परम्परा, धर्म, संस्कृति मौलिकतालाई उजागर गर्दै पारिवारिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने उनको भनाइ रहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले प्राकृतिक संरक्षण मात्रै नभई गाउँका मानिसको जीवनस्तर उकास्नका लागि आयआर्जनका काम पनि गर्दै आएको छ ।

होमस्टेका लागि कुक तालीम, लोकल जुस बनाउन लालीगुराँस, भूँइकाफल र च्यार्की जुस निर्माण तालीम पनि दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button