म्याग्दीको मराङमा व्यावसायिक अलैँची खेती

पोखरा न्यूज -०८, साउन ।

म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा व्यावसायिक रुपमा अलैँची खेती शुरु भएको छ ।

गाउँपालिकाको सहयोगमा मराङको हाङ्बाङमा गठन भएको मालिका कृषक समूहले अलैँचीखेती शुरु गरेको हो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत दुई हेक्टर जमीनमा अलैँचीका बिरुवा रोपेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

४३ जना कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । पाखोबारी र जंगलभित्रको ओसिलो क्षेत्रमा अलैँचीको बिरुवा रोपिएको हो । रोपेको तीन वर्षमा फल दिन शुरु गर्ने मसला प्रजातिअन्तर्गत पर्ने अलैँची चिस्यानयुक्त ठाउँमा खेती गर्न सकिन्छ ।

हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र राईले बताए ।

लुलाङमा आलुखेतीको कार्यक्रम सञ्चालन भएको छ । लुलाङमा बीउ भण्डारण गृह निर्माण गरिएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा उक्त भण्डारण गृह निर्माण गरिएको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख अनुदान उपलब्ध गराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button