नवलपरासीमा प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

पोखरा न्यूज -१२, साउन ।

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई आज प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरिएका विभिन्न प्रकारका लागुऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका–४ बस्ने वर्ष १८ का सुवास गुरुङ्ग, सोही स्थानका वर्ष १७ का जीतबहादुर मगर र पश्चिम नवलपरासी बर्दघाट–५ बस्ने वर्ष १८ का दीपक दर्जी रहेका छन् ।

उनीहरुको साथबाट नेप्सन १८० फाइल, नोफिन एउटा, डाइजेपाम एउटा र फेनेरागन एउटासमेत बरामद गरिएको छ । सशस्त्र प्रहरी अस्थायी पोष्ट त्रिवेणी र इलाका प्रहरी कार्यालय त्रिवेणीको संयुक्त सुरक्षा टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पछिल्लो समय नेपाल भारतसँग सिमाना जोडिएको नवलपरासीको बाटो हुँदै लागुऔषधको व्यापक कारोबार हुने गरेको देखिएको छ।

पछिल्लो केही महिनायता भारतीय बजारबाट खरीद गरी नेपाल भित्र्याएका ठूला परिमाणमा लागुऔषध नवलपरासीको सिमानामा बरामद हुन थालेपछि लागुऔषध नियन्त्रण गर्न सुरक्षा चुनौती देखा परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button