दुई कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल

पोखरा न्यूज -१५, साउन ।

उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्नेगरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको छ ।

जुन १४ यता दुई कोरियाको उच्च तहमा सम्पन्न उक्त बैठक दुई कोरियालाई छुट्याउने असैनिक क्षेत्र (डिएमजेड) मा रहेको दक्षिण कोरियाली शान्ति भवनमा भएको थियो ।

“सैनिक तनाब कम गर्न र दुई कोरियाबीच विश्वासको वातावरण निर्माण गर्न एउटा व्यवहारिक उपायको खोजी गर्नेतर्फ हाम्रो वार्ता केन्द्रित भएको छ,” वार्तामा सहभागी दक्षिण कोरियाली प्रतिनिधिमण्डलका प्रमुख एवं मेजर जनरल कीम डो–ग्यूनले बताए । वार्तामा दक्षिण कोरियाबाट पाँच सदस्यीय उच्च सैनिक नेतृत्व सहभागी रहेको छ ।

उत्तर कोरियाका तर्फबाट लेफ्टीनेन्ट जनरल आन इक–सानको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको छ ।

पर्यवेक्षकहरुका अनुसार, दुवै पक्षले पानमुनजोमको संयुक्त सुरक्षा क्षेत्र (जेएसए) लाई हातहतियार विहीन बनाउनेतर्फ विचार आदान प्रदान गर्न सक्नेछन् । उनीहरुले डिएमजेडलाई “शान्ति क्षेत्र” का रुपमा घोषणा गर्न सक्नेछन् । यस विषयमा गत महिनाको वार्तामा पनि परिचर्चा भएको थियो ।

उनीहरुबीच सीमावर्ती पोस्टमा तैनाथ सैनिक र उपकरणहरु “परीक्षणका रुपमा” हटाउने विषयमा दक्षिण कोरियाली प्रस्तावमाथि पनि छलफल हुने सम्भावना रहेको छ । दक्षिण कोरियाले डिएमजेडमा करिब ६० वटा सैनिक पोस्ट स्थापना गरेको छ, जबकी उत्तर कोरियाली १६० वटा त्यस्ता पोस्ट खडा गरेको छ ।

पर्यवेक्षकहरुले उत्तरी सामुद्रिक सीमाका विषयमा समेत शान्ति रेखा कायम गर्न दुवै पक्ष सहमत हुने सम्भावना औंल्याएका छन् । उनीहरुबीच सन् १९५०–५३ को कोरियाली युद्धका क्रममा मारिएका सैनिकका अवशेषको खोजी गर्नेसम्बन्धी एक परियोजनामा सहमति जनाउने सम्भावना छ ।

झण्डै एक दशकपछि बसेको गत महिनाको वार्तामा सैनिक सञ्चार खुला गर्ने विषयमा सहमति भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button