पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध

पोखरा न्युज -१७, साउन ।

गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ ।

बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए ।

“पहिरो करीब १०० मिटर लामो छ, हामीसँग भएको सानो एक्साभेटरले पहिरो पन्छाउन सकिएन,” सहायक प्रजिअ थापाले भने “सडक डिभिजन कार्यालयसँग समन्वय गरेका छौँ, जतिसक्दो छिटो पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्छौं ।”

पहिरोले पैदलयात्रुलाई समेत हिँड्न कठिनाइ भएकोमा तत्कालका लागि प्रहरी परिचालन गरी पैदलयात्रा गर्नसक्ने बनाइएको छ । पहिरोस्थलमा माथिबाट ढुंगा झरिरहेकाले प्रहरीको सहायतामा यात्रुलाई पहिरो कटाउने गरिएको छ ।

“तत्कालका लागि यातायात सञ्चालन गर्न नसकिए पनि पैदलयात्रा गर्नसक्ने बनाएका छौँ” प्रहरी नायब उपरीक्षक यादव ढकालले भने। पहिरोमा ढुंगा झरिरहेकाले यात्रुलाई पहिरो कट्न प्रहरीले सहयोग गरिरहेको छ ।

यातायात अवरुद्ध भएपछि जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका हुँदै मनाङ पुग्ने सर्वसाधारण, सदरमुकाम आउने सेवाग्राही। अन्नपूर्ण पदमार्गमा आएका पर्यटक समस्यामा परेका छन् । बर्षा लागेसँगै लमजुङ–मनाङ सडक पटकपटक अवरुद्ध हुुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button