पोखरा न्यूज -२०, साउन ।
यसै त पोखरा धेरै पानी पर्ने ठाउँ हो । वर्षात्को याम भएका कारण क्षणभरमा पानी पर्नु र घाम लाग्नु यतिखेर यहाँको दैनिकीजस्तै बनेको छ ।
पोखराको यस्तै मौसममा पोखरा आर्ट ग्यालरीमा गरिएको समता चित्रकला प्रदर्शनी २०७५ मा वर्षात् र पोखरा आसपासको वातावरणको जीवन्त चित्रण गरिएका तस्बिर प्रदर्शनमा राखिएको छ ।
वरिष्ठ कलाकार वात्स्यायन, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थसहित पछिल्लो पुस्ताका नवोदित कलाकार गरी ३६ जनाका कलाकृति यतिखेर प्रदर्शनीमा राखिएका छन् । हरिया फाँटका बीचमा टिनले छाइएका घरबस्ती, आकाशमा उडिरहेका पक्षीसहितको स्थानीय वातावरणको जीवन्त चित्रण गरिएको वात्स्यायनको कला, बुद्धिको माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा ढुङ्गाबाट छाइएको बस्तीलगायत दृश्यले प्रदर्शनी हेर्न पुग्ने जो कोहीको मनलाई आकर्षण गर्ने गरेको छ ।
फेवातालमा पौडी खेल्ने माछापुच्छ्रे हिमाललाई कलाकार बुद्धि, झवीन्द्र गुरुङ, गोपाल श्रेष्ठलगायतले आफ्ना कलामा प्रस्तुत गरेका छन् भने नवोदित कलाकार विकास गुरुङ, निशा पुनलगायतले प्रकृति र संस्कृतिका विविध पक्षलाई कलामा उतारेका छन् ।
कलाकर्मी देवेन्द्र गुरुङले विन्ध्यवासिनी मन्दिरको प्राचीन स्वरुपलाई आफ्नो कलामा कोरेका छन् भने विकास गुरुङ, हेमकान्ती गुरुङ, युवराज लामिछानेलगायतले धार्मिकस्थलको परिवेशलाई देखाएका छन् ।
फेवातालमा महिलाले डुङ्गा चलाउँदै गरेको जस्तै देखिने सुदिन श्रेष्ठको कला, तालमा यात्रुका पर्खाइमा रहेको डुङ्गासहितको सुदिन गुरुङको कलात्मक प्रस्तुति त्यहाँ पुग्ने दर्शक घोरिएर हेर्न बाध्य बनाएको छ ।
त्यस्तै सराङ्कोटबाट फेवातालमा झर्दै गरेजस्ता प्याराग्लाइडिङको दृश्यलाई कलाकार केदार पलिखेले प्रस्तुत गरेका छन् भने करुणा अर्यालको फेवातालको किनारमा हिँड्दै गरेका पर्यटकको तस्वीरले पनि दर्शकको मन चोरेको छ ।
विगतमा पानी रङमा धेरै कलाकृति सिर्जना गरिएका कारण पानी रङको शहर पोखरामा प्रदर्शनीमा राखिएको जलरङका कलाकृतिले प्रत्येक कलाप्रेमीको मन जितेको पाइन्छ । कलाप्रतिको आकर्षण पछिल्ला पुस्तामा निकै बढिरहेको बताउने विकास गुरुङ आफूहरूको पुस्ताले यस क्षेत्रमा धेरै सम्भावना देखिरहेको बताउछन् । कला क्षेत्रमा लाग्नका लागि सिर्जनात्मकता र निरन्तरको अभ्यास आवश्यक रहेको उनले उल्लेख गरे ।
गुरुङजस्तै अर्का नवोदित कलाकार पुनमा मेहनेत गरेमा यस क्षेत्रमा राम्रो प्रगति गर्न सकिने विश्वास छ । “मैले सानो छँदा नै चित्र बनाउने तथा कोर्ने गर्थेँ,” हाल पोखरा हिल प्वाइन्टमा कक्षा १२ मा कला विषय पढ्दै गरेकी पुनले भने, “पछिल्लो पुस्ता यसतर्फ धेरै आकर्षित बन्दै आएको छ ।”
पछिल्ला समयमा कला पढ्न चाहने विद्यार्थीको संख्या पनि बढिरहेको बताउँदै उनले युवा पुस्तामा बढिरहेको कलाप्रतिको आकर्षणलाई अझै बढाउन राज्यस्तरबाटै पहलको खाँचो रहेको धारणा राखे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution