गण्डकी प्रदेशबाट क्रिकेटर केसी नगद १ लाख सहित सम्मानित

सातै प्रदेशमा क्रिकेट एकेडेमी आवश्यक मुख्य मन्त्री गुरुङ

पोखरा न्यूज -२७, साउन ।

गण्डकी प्रदेशबाट राष्ट्रिय क्रिकेट टिमका युवा खेलाडी करण केसी नगद एक लाख सहित सम्मानित भएका छन । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय खेलाडी केसीलाई आज (आईतबार) पोखरामा एक समारोहका बिच सम्मान गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेशले केसीलाई नगद एक लाख सहित दोसल्ला, प्रसंसा–पत्रको साथमा फुलमालाले सम्मान गरेको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदशेका सामाजिक विकास मन्त्री नरदेवी पुन लगायतले केसीलाई सम्मान गरेका हुन।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले करिब ४ महिना अघि केसीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी केसीलाई प्रदेश सरकारका तर्फबाट एक लाख प्रदान गर्ने घोषणा गरेका थिए । नामिबियामा भएको खेलमा नेपाललाई जिताउन महत्वपुर्ण भूमिका खेल्ने केसीलाई पोखरा क्षेत्रका विभिन्न खेल संघहरुका पदाधिकारीहरुले समेत सम्मान गरेका हुन। उक्त जितसंगै नेपालले एक दिवसिय मान्यता प्राप्त गरेको थियो ।

कार्यक्रममा बोल्दै क्रिकेट खेलाडी केसीले गण्डकी प्रदेश र समग्र देशको क्रिकेट खेलको विकासमा आफु कटिवद्ध भयर लाग्ने बताए । यस्तो सम्मानले आफ्नो लागि मात्र नभई समग्र क्रिकेट खेलाडी तथा खेलकुदको सम्मानको रुपमा आफुले लिएको उनको भनाई छ।

उनले भने “ नेपाल सगरमाथाले मात्र चिन्थे भने अब क्रिकेटले पनि चिनिदैछ, यसो हुदा अब सबैले क्रिकेटलाई माया गर्नु पर्यो, सरकारले यस खेलको पुर्वाधार विकासमा लगानी गर्नु पर्यो । ” क्रिकेट खेलमा लाग्ने खेलाडीहरुको हौसलाको लागि खेल हारे पनि जिते पनि सधै माया गर्न उनले आग्रह समेत गरे ।

गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले कार्यक्रममा बोल्दै क्रिकेट खेलको विकासको लागि कम्तिमा ७ वटै प्रदेशमा क्रिकेट एकेडेमी आवश्यक भएको बताए । पहाडी क्षेत्रबाट क्रिकेट खेलाडीहरु उत्पादन नभएको बताउदै उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा खेल मैदान बनाउने योजना रहेको उल्लेख गरे । मुख्यमन्त्री गुरुङले मुस्ताङको लोप्साङखर्कमा हाई अल्टिच्युड प्रशिक्षण केन्द्र बनाउने योजना अघि बढेको जनाए ।

खेलकुदमा ख नजान्ने मन्त्रीहरु हुदा नेपाली खेलकुदको विकास हुन नसकेको उनको आरोप छ । उनले भने “ राज्यले खेलकुदमा एथेस्ट लगानी गर्न सकेको छैन, अब हामीले खेलकुदमा फट्को मार्ने गरी विकास गर्नु पर्छ, त्यसको लागि प्रवल सम्भावना भएका खेलहरुको पहिचान गरी एकेडेमी सहितको खेल पुर्वाधार निमार्णमा राज्यको ध्यान जान आवश्यक छ, हाम्रो प्रदेशमा यसमा तयार छ, स्थानिय र संघिय सरकारहरुले समेत सहयोग गर्नु पर्छ । ” खेलाडीलाई सम्मान गर्ने परम्पराको परिपाटी गण्डकी प्रदेशले सुरुवता मात्र गरेको बताउदै मुख्य मन्त्री गुरुङले सम्मान स्वरुप दिइएको सानो रकम सुपारी बाँडेजस्तै रहेको जनाए । गण्डकी प्रदेशमा खेल पर्यटनको उतिकै सम्भावना रहेको उनको भनाई थियो ।

गण्डकी प्रदशेका सांसद मोहन रेग्मीले खेल क्षेत्रमा लाग्नेको भविश्य ग्यारेन्टी गर्न सके समाजमा हुने विकृति विसङगती समेत न्यूनिकरण गर्न सकिने बताए । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले प्रदेश सरकारलाई धेरै खेलमा हात नहाल्न आग्रह गर्दै सम्भावना भएका ३/४ खेलमा मात्र राम्रो नतिजा ल्याउने गरी लगानी गर्न आग्रह गरे । नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले खेलकुदमा धेरै अनियमितता हुने गरेको जसबाट आफुहरु समेत प्रभावित हुने गरेको गुनासो गरे । सामाजिक विकास मन्त्री नरदेवी पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको मन्त्रालयका सचिव कृष्ण मुराहरी न्यौपानेले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button